मुख्य सामग्रीमा जानुहोस्

जुलाईमा ७१ हजार बढी पर्यटक, वर्षामा पनि २.३ प्रतिशतको वृद्धि

भारत अझै पनि सबैभन्दा ठूलो स्रोत बजार रहेको छ। जुलाईमा मात्रै २३,४९० भारतीय पर्यटक नेपाल आएका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

सन् २०२६ को जुलाईमा नेपालले ७१,७७५ अन्तर्राष्ट्रिय पर्यटक भित्र्याएको छ। वर्षायामका बाबजुद पनि अघिल्लो वर्षको सोही महिनाको तुलनामा पर्यटक आगमन २.३ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्ड (एनटीबी) ले जनाएको छ।

बोर्डका अनुसार सन् २०२५ को जुलाईमा ७०,१९३ पर्यटकले नेपाल भ्रमण गरेका थिए। यस पटक अन्तर्राष्ट्रिय आगमन बढेर ७१,७७५ पुगेको हो।

सबैभन्दा धेरै भारतीय पर्यटक

भारत नेपालको सबैभन्दा ठूलो पर्यटक स्रोत बजार कायम रहेको छ। जुलाईमा २३,४९० भारतीय पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ३२.७३ प्रतिशत हो। चीनबाट ११,०९९ पर्यटक आएका छन्, जुन कुल आगमनको १५.४६ प्रतिशत हो। त्यस्तै, अमेरिकाबाट ७,७५४ पर्यटक (१०.८० प्रतिशत), बंगलादेशबाट ४,१७९ पर्यटक (५.८२ प्रतिशत) र बेलायतबाट ३,७७३ पर्यटक (५.२६ प्रतिशत) नेपाल भित्रिएका छन्।

क्षेत्रगत रूपमा दक्षिण एसिया अगाडि

क्षेत्रगत आधारमा दक्षिण एसियाबाट सबैभन्दा बढी पर्यटक आएका छन्, जसको योगदान कुल आगमनको ४१.५ प्रतिशत छ। अन्य एसियाली मुलुकबाट २४.३ प्रतिशत, युरोपबाट १२.९ प्रतिशत, अमेरिकाबाट १२.३ प्रतिशत, ओसेनियाबाट ३.६ प्रतिशत र अन्य क्षेत्रबाट ३.९ प्रतिशत पर्यटक नेपाल आएका छन्। मध्यपूर्वबाट १.० प्रतिशत र अफ्रिकाबाट ०.५ प्रतिशत पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ।

नेपाल पर्यटन बोर्डका अनुसार जुलाईको तथ्यांकले नेपालप्रति अन्तर्राष्ट्रिय पर्यटकको चासो कायमै रहेको देखाएको छ। साथै, नेपाललाई जीवनभर भ्रमण गर्ने गन्तव्यका रूपमा स्थापित गर्ने अभियानलाई पनि थप बल पुगेको बोर्डको भनाइ छ।