सुनसरीको देवानगञ्जमा गोली लागेर उपचारका क्रममा मृत्यु भएका रवीन्द्र मेहताका आफन्तसँग गृहमन्त्री सुधन गुरुङले वार्ता गरिरहेका छन्। मेहताका आफन्तले शव नउठाउने अडान लिएपछि गृहमन्त्री मंगलबार त्रिवि शिक्षण अस्पताल पुगेका हुन्।
२२ वर्षीय मेहताको मंगलबार नै उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो। उनको मृत्युपछि आफन्तहरुले गृहमन्त्री स्वयम् आएर माग पूरा गरेपछि मात्र शव बुझ्ने बताउँदै आएका छन्।
वार्तामा आफन्तको अडान
मेहताका आफन्तले अहिलेसम्म घटनामा कोही पनि नियन्त्रणमा नआएको, छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरिएको र गोली चलाउने व्यक्तिबारे जानकारी नदिइएको भन्दै प्रश्न उठाएका छन्। उनीहरुले दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गरेका छन्।
आफन्तको अडानपछि गृहमन्त्री गुरुङ वार्ताका लागि अस्पताल पुगेका हुन्। वार्ताको विस्तृत विषयबारे भने हालसम्म कुनै जानकारी सार्वजनिक भएको छैन।
तीन परिवारसँग भएको सहमति
यसअघि सोही देवानगञ्ज घटनामा मृत्यु भएका तीन जनाका परिवारसँग सरकारले वार्ता गरी सहमति गरेको थियो। उक्त सहमतिमा सहिद घोषणा गर्ने, आर्थिक सहायता उपलब्ध गराउने र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नेलगायतका बुँदा समेटिएका थिए।
रवीन्द्रका आफन्तले पनि सरकारसँग औपचारिक सम्झौता भएपछि मात्र शव अन्त्येष्टि गर्ने बताएका छन्। वार्ताको नतिजा आउने क्रममा रहेको र शव अहिले अस्पतालमै राखिएको जानकारी स्रोतले दिएको छ।
