पोखरामा विगत दुई सातादेखि खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ। उपभोक्ताहरूले ग्यास पाउन नसकेर दैनिक सास्ती खेप्नु परेको छ। एक सिलिन्डर ग्यास पाउनका लागि चार घण्टासम्म पालो कुर्नुपरेको गुनासो उनीहरूको छ।
ग्यास उद्योगीहरूले भने नियमित आपूर्तिभन्दा केही मात्रामा ग्यास घटेको र अहिले नै यति ठूलो अभाव हुनु नहुने बताएका छन्। तर उपभोक्ताको व्यवहारिक समस्या भने देखिएको छ।
वितरण सहज बनाउन प्रशासनको पहल
स्थानीय प्रशासनले ग्यास आपूर्ति सहज बनाउन बाहिरबाट ग्यास ल्याउने उद्योगीलाई पोखराका लागि सिलिन्डरको परिमाण बढाउन आग्रह गरेको छ। उद्योगले डिलरमार्फत पठाएको ग्यास उपभोक्तासम्म सहजै पुगोस् भन्नका लागि प्रहरी परिचालन गरिएको छ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले ग्यास वितरणलाई व्यवस्थित बनाउन प्रहरी परिचालन गरिएको जानकारी दिए। उनका अनुसार पसलले आफ्ना नियमित ग्राहकलाई मात्र ग्यास दिँदा अन्य उपभोक्ताले ग्यास पाउन नसकेको गुनासो आएपछि पालैपालो उपभोक्तालाई ग्यास उपलब्ध गराइएको छ। सबै उपभोक्तालाई बराबर रूपमा ग्यास वितरण गर्नका लागि प्रहरी खटाइएको उनको भनाइ छ।
पोखरामा ग्यास बिक्री गर्ने १७ वटा उद्योगमध्ये दुईवटा मात्र पोखराभित्र सञ्चालनमा रहेको बरालले बताए। बाँकी उद्योगले बाहिरबाटै भरिएको सिलिन्डर ल्याउने गर्छन्। उनले सबै उद्योगका आधिकारिक व्यक्तिसँग फोनमा कुरा गरेर पोखराका लागि आपूर्ति बढाउन अनुरोध गरेको पनि बताए।
वितरण प्रक्रियामा कडाइ
प्रशासनले ग्यास उद्योग तथा बिक्रेताहरूलाई प्राप्त र वितरण गरेको परिमाणको दैनिक अभिलेख राख्न भनेको छ। पहिले आउने उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्री गरी उपभोक्ताको विवरणसमेत राख्न अनुरोध गरिएको छ।
त्यस्तै, ७५ वर्षमाथिका ज्येष्ठ नागरिक, पूर्ण रूपमा अशक्त तथा अपांगता भएका व्यक्ति र भाडामा बस्ने विद्यार्थीलाई प्राथमिकताका आधारमा न्यूनतम परिमाणमा ग्यास वितरण गर्न निर्देशन दिइएको छ। अनावश्यक रूपमा ग्यास सञ्चित नगर्न पनि प्रशासनले आग्रह गरेको छ। ग्यास उद्योगका सञ्चालकले वितरण, सञ्चिति र मूल्यका विषयमा नियमित अनुगमन गर्ने प्रशासनले जनाएको छ।
उद्योगी र उपभोक्ताबीचको मतभिन्नता
उद्योगीहरूले पहिलेको तुलनामा करिब २० प्रतिशतले ग्यास आपूर्ति घटेको बताएका छन्। तर उनीहरूका अनुसार घटेको सो परिमाणले अहिले नै अभाव सिर्जना गर्नु हुँदैन। उद्योगी तथा व्यवसायीहरू उपभोक्ताले नै धेरै मात्रामा ग्यास सञ्चित गरेर अभाव निम्त्याएको आरोप लगाउँछन्।
खाजा पसल सञ्चालक राजु भुजेलले ग्यास नपाए आफ्नो व्यवसाय नै ठप्प हुने अवस्था आएको बताए। एक सिलिन्डर ग्यास पाउन पनि मुस्किल परिरहेको उनको भनाइ छ। केही दिनअघि ग्यासका लागि चार घण्टा पानीमा भिजेर पालो कुर्नुपरेको उनले सुनाए।
एलपी ग्यास बिक्रेता संघ कास्कीका नारायण दाहालले पोखराका लागि ग्यासको लोड नै कम भएको, भारतको ग्यास रिफाइनरी केन्द्रमा समस्या आएको र पहुँचयुक्त उपभोक्ताले आवश्यकभन्दा बढी सिलिन्डर मौज्दात गर्दा अभाव बढेको बताए।
पोखरामा गृहलक्ष्मी र शक्ति कम्पनीले लेखनाथ क्षेत्रका आफ्नै प्लान्टमार्फत ग्यास भरेर बजारमा पठाउने गरेका छन्। यीबाहेक अन्य कम्पनीहरूले पनि पोखरामा ग्यास बिक्री गर्छन्। पोखरामा जाडोयाममा मासिक करिब डेढ लाख र गर्मीयाममा करिब एक लाख ४० हजार सिलिन्डर खपत हुने गरेको छ। पर्यटकीय क्षेत्र लेकसाइडमा सबैभन्दा बढी ग्यास खपत हुन्छ।
