काठमाडौं । सर्वोच्च अदालत परिसरमा फेरि आगलागी भएको छ । अदालतको निर्माणाधीन भवनभित्र मुद्दा फाँटको मल्टिप्लकमा विद्युतीय सर्ट भएपछि आगो लागेको अदालत प्रशासनले जनाएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार आगो बन्द कोठाभित्र लागेको थियो र त्यसबाट ठूलो क्षति भएको छैन । विद्युत् सर्ट भएरै आगलागी भएको उनले बताए ।
आगलागीमा एक थान टेबल र तीन थान कम्प्युटर जलेका छन् । मुद्दासम्बन्धी मिसिलहरू भने आगोबाट बचेको प्रवक्ता कोइरालाले जानकारी दिए ।
आगलागीको खबर पाउनासाथ प्रहरी र दमकलको टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो ।
यसअघि सर्वोच्च अदालतमा १७ भदौमा पनि आगलागी भएको थियो । त्यतिबेला अभिलेख शाखामा आगो लागेको थियो । सो घटनाको छानबिन भइरहेकै बेला अहिले अर्को आगलागी भएको छ ।
यसअघि जेनजी आन्दोलनका क्रममा पनि सर्वोच्च अदालतमा आगजनी हुँदा ठूलो क्षति भएको थियो ।







