साउन २० गते, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक धुम्बराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो साढे १२ बजेपछि सुरु भई जारी छ।
बैठक सुरु भएको जानकारी पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले दिएका छन्। उनका अनुसार समितिमा अहिले पार्टीको महाधिवेशन तयारीका विविध पक्ष, प्रदेश सरकारलगायत समसामयिक राजनीतिक विषयमा छलफल चलिरहेको छ।
बैठकको एजेन्डामा के-के छन् ?
आगामी महाधिवेशनको तयारी र प्रदेशहरूमा देखिएको हालको राजनीतिक परिस्थिति बैठकको प्रमुख एजेन्डा रहेको प्रवक्ता श्रेष्ठले बताए। उनका अनुसार प्रदेश सरकारको विषयमा कार्यसम्पादन समितिभित्र विस्तृत छलफल भइरहेको छ।
बागमती र गण्डकीमा राप्रपा निर्णायक
नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धन प्रदेशका सरकारहरूमा भत्किएपछि बागमती र गण्डकी प्रदेशमा राप्रपाको स्थिति निर्णायक बनेको छ। यी दुई प्रदेशका सरकारबारे आफ्नो धारणा राप्रपाले यही बैठकबाट सार्वजनिक गर्ने भनेकाले आजको बैठकलाई चासोका साथ हेरिएको छ।
