अनुदानमा प्राप्त रासायनिक मल बजारभन्दा बढी मूल्यमा बिक्री गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलङ्गवा नगरपालिका–१० स्थित कृष्ण जनरल स्टोरबाट डीएपी मल बेचिरहेको अवस्थामा मलङ्गवा–७ का अभिनय राय र अभिनन्दन राय पक्राउ परेका हुन्।
प्रतिबोरा ३ हजार ५०० मा बिक्री
रायद्वयले डीएपी मल प्रतिबोरा ३ हजार ५०० रुपैयाँमा बिक्री गरिरहेको प्रहरीले जनाएको छ। उनीहरूको पसलमा खानतलासी गर्दा ५० किलो तौलका चार बोरा डीएपी र एक बोरा युरिया मल बरामद भएको छ।
रायद्वयले उक्त मल मलङ्गवा–४ शिवसागर चोकस्थित राहुल गुप्ताको पसलबाट प्रतिबोरा ३ हजार २०० रुपैयाँमा खरिद गरेको बयान दिएका थिए। त्यसपछि प्रहरीले सो पसलका सञ्चालक मलङ्गवा–३ का राहुल गुप्तालाई पनि पक्राउ गरेको हो।
गुप्ताको पसलबाट सात बोरा युरिया बरामद
गुप्ताको पसलमा खानतलासी गर्दा सात बोरा युरिया मल बरामद भएको प्रहरीले जनाएको छ। तीनै जनाविरुद्ध कालोबजारीसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
