खाना पकाउने एलपी ग्यासको बजारमा देखिएको असहजता केही दिनभित्रै समाधान हुने नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार उपभोक्ताको आत्तिएर खरिद गर्ने प्रवृत्ति र प्राविधिक कारणले ग्यासको माग अस्वाभाविक रूपमा बढेको छ।
बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले यस्तो जानकारी दिएका हुन्। सामान्य अवस्थामा करिब ४७ हजार टन रहने ग्यासको माग बढेर ६० हजार टन पुगेको उनले बताए।
आईओसीबाट थप आपूर्तिको पहल
निगमले भारतीय आयल निगम (आईओसी)सँग ग्यास आपूर्ति बढाउन निरन्तर कुराकानी भइरहेको जनाएको छ। बरालका अनुसार पहिले दुई महिनाका लागि ४९ हजार टनको माग पठाउने गरिएकामा अहिले ६० हजार टनको माग गरिएको छ। तर आईओसीले ४९ हजार ५ सय टन मात्र दिन सक्ने बताएको छ।
‘आईओसीले ४९ हजार ५ सय टनमात्र दिन सकिने बताए पनि हामीले जसरी भए पनि ५५ हजार टन उपलब्ध गराउन आग्रह गरेका छौं,’ बरालले भने।
आईओसीले ५५ हजार टनको माग पूर्ण रूपमा स्वीकार नगरे पनि बुलेट लोडिङ भने बढाएको उनले बताए।
अभावका कारण र सुधारका प्रयास
निगमले बजारमा ग्यास अभाव देखिनुको प्रमुख कारण उपभोक्ताले आत्तिएर ग्यास भण्डारण गर्नुलाई मानेको छ। दसैं–तिहार मध्यनजर गर्दै उपभोक्ता अधिकारकर्मीहरूसँगको छलफलमा दुई महिनाका लागि ६० हजार टन ग्यास ल्याउन सके बजारको दबाब घट्ने विषयमा कुराकानी भएको बरालले बताए।
तत्कालै मागअनुसार आपूर्ति बढाउन प्राविधिक तथा ढुवानीका सीमितता रहेको निगमको भनाइ छ। हल्दियाको पाइपलाइनमा आगलागी भएपछि त्यहाँको उत्पादन पनि प्रभावित भएको उल्लेख गर्दै बरालले भने, ‘हामीले भन्नेबित्तिकै आईओसीले पनि रिफाइनरीबाट उत्पादन बढाउन सक्दैन।’
निगमले ग्यास आपूर्ति सहज बनाउन भरमग्दुर प्रयास गरिरहेको बताएको छ। पहिले दैनिक ८० वटा बुलेट लोड हुने गरेकामा अहिले दैनिक ११० देखि ११५ वटा बुलेट लोड भइरहेको बरालको दाबी छ। ‘यही रूपमा आपूर्ति हुँदै गए अबको ८–१० वा १५ दिनभित्र ग्यास आपूर्ति पूर्ण रूपमा व्यवस्थापन गर्न सकिने आशावादी छौं,’ उनले भने।
