मुख्य सामग्रीमा जानुहोस्

कप्तानगञ्ज हिंसा : मोबाइलमा आफन्त मारिएको देख्नुपरेको पीडा, स्थलगत भिडियो रिपोर्ट

कप्तानगञ्ज घटनाले चार युवाको ज्यान लियो । स्थानीय खुर्सिद मियाँले मोबाइलमा आफन्त मारिएको देखेको र खाना–सुत्न नसकेको बताएका छन् । प्रशासनको ढिलो प्रतिक्रियाप्रति आक्रोश छ भने निष्पक्ष छानबिनको माग उठेको छ ।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

कप्तानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक झडपमा चार युवाको ज्यान गएको छ । दर्जनौं घाइते भएका छन् भने भौतिक क्षति अकल्पनीय छ । सेना र प्रहरी परिचालन गरेर तत्काल शान्ति कायम गर्न खोजिए पनि जमिनको अवस्था भने अझै भयावह छ । सुनसरी र सिरहाका तनावग्रस्त क्षेत्रमा तीन दिनसम्म गरिएको स्थलगत अवलोकनले यसको प्रष्ट संकेत दिन्छ ।

कप्तानगञ्जका स्थानीय खुर्सिद मियाँले भेट्नासाथ आफ्नै भाइभतिजा मोबाइलमा मारिएको दृश्य देखेको र खाना–सुत्न नसकेको बताए । यस्तै पीडा हिन्दु समुदायका मानिसमा पनि देखिएको छ । मुस्लिम र हिन्दुलाई आपसमा लडाउने प्रयास कसले गर्‍यो भन्ने विषयमा खोजी हुनुपर्ने स्थानीयको माग छ ।

प्रशासनको ढिलो प्रतिक्रिया

मधेश ब्युरो प्रमुख शैलेन्द्र क्रान्तिले सुरुमा गृहमन्त्री आउनुपर्ने माग उठे पनि गृहमन्त्रीको तर्फबाट पीए मात्र पठाइएको बताए । उनका अनुसार धार्मिक विवाद बढ्दै मधेश अशान्त भएपछि मात्र गृहमन्त्री घटनास्थल पुगेका थिए ।

कोशी कटान क्षेत्रमा सरजुग गोइत भग्नावशेषबाट सामान मिलाउँदै थिए । आफ्नो किराना र मदिरा पसल तोडफोड भएको र अझै केही जनप्रतिनिधिले धम्की दिइरहेको उनले गुनासो गरे । हिन्दुको घर जलाउँदा मुस्लिम समुदायले निर्माण गरेको फ्रेस हाउस पनि पूर्ण रूपमा जलेको थियो ।

गोलबजारमा आगजनी र गोली

गोलबजारको अवस्था अझ दयनीय छ । पार्किङ गरिएका १९ वटा मोटरसाइकलमा आगजनी भएको छ । क्याम्पस रोडमा ढुंगामुढा हुँदा प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भयो । गोलबजारकी एक स्थानीय महिलाले प्रशासनले धेरै धरपकड गरेको बताइन् ।

गोलबजार वडा नम्बर ४ का ५८ वर्षीय कलाम खान र ५५ वर्षीया सबाना खातुनलाई भेट्दा खातुनले बिरामी अवस्थामा सुतिरहेका बेला रडले हानेको र भित्र रगतै रगत भएको गुनासो सुनाइन् । त्यहाँका अरुणकुमार मण्डलले घटना आफसेआफ नभई नियोजित भएको दाबी गरे । निष्पक्ष छानबिन र कारबाही नभएसम्म समाजमा शान्ति र न्यायको अनुभूति हुन कठिन हुने उनको भनाइ छ ।

डिजिटल प्रचार र मेलमिलापको चाहना

सूचना प्रविधिको क्षेत्रमा एक दशकभन्दा लामो अनुभव रहेका जनकपुरका अमित झाले डिजिटल प्रचारले विवादलाई थप मलजल गरेको बताए । उनका अनुसार कन्टेन्ट भाइरल भएपछि दुवै समुदाय प्रभावित भएका हुन् । यसपटक विभिन्न पेजले उत्तेजना फैलाएको उनको भनाइ छ ।

स्थलगत अवलोकनका क्रममा धेरैसँग कुराकानी गर्न खोज्दा थुप्रैले पहिचान खुल्ने डरले बोल्न अस्वीकार गरे । त्रासको वातावरण कतिञ्जेल रहने हो भन्न सकिने अवस्था छैन । कोशी ब्युरो प्रमुख हरि अधिकारीले समुदायले आपसमा मिल्न सहजीकरण खोजिरहेको तर राज्यले त्यो काम गराउन नसकेको बताए । कप्तानगञ्जका खुर्सिद मियाँ भने छिटो मेलमिलापको अपेक्षामा छन् । आफूहरू मिल्न खोजिरहेको भन्दै उनले सहयोगका लागि आग्रह गरे ।

भिडियो : कमल प्रसाईं