मुख्य सामग्रीमा जानुहोस्

श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक : राजदूत बास

नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले इजरायल नेपालसँग श्रम सहकार्य विस्तार गर्न इच्छुक रहेको बताएका छन्। ‘केयर गिभिङ’, कृषिलगायत क्षेत्रमा नेपालीलाई थप रोजगारीका अवसर दिने पहल भइरहेको उनले जानकारी दिए।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

इजरायलले नेपालसँगको श्रम सहकार्य अझ विस्तार गर्ने तयारी गरेको छ। नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले साउन २१ गते बिहीबार पोखरामा सञ्चारकर्मीसँगको अन्तरक्रियामा इजरायल यसका लागि इच्छुक रहेको बताए।

राजदूत बासका अनुसार इजरायल र नेपाल सरकारबीच थप श्रम समझदारीका विषयमा छलफल भइरहेको छ। उनले ‘केयर गिभिङ’, कृषिलगायतका क्षेत्रमा नेपाली श्रमिकका लागि थप रोजगारीका अवसर सिर्जना गर्न पहल भइरहेको जानकारी दिए। इजरायलमा ‘केयर गिभर’का रूपमा कार्यरत नेपाली श्रमिकले महत्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ छ।

विविध क्षेत्रमा सहकार्यमा जोड

राजदूत बासले श्रम र रोजगारीसँगै कृषि, पर्यटन, सूचना–प्रविधिलगायतका क्षेत्रमा पनि दुई देशबीचको सहकार्य अघि बढाउनुपर्नेमा जोड दिए। इजरायलले आफ्ना प्रविधि र अनुभव विकासशील देशहरूसँग साझेदारी गर्ने उद्देश्यले कार्यक्रमहरू सञ्चालन गर्दै आएको उनले बताए।

‘सिक्दै, कमाउँदै’ कार्यक्रम

सन् २००१ देखि सञ्चालनमा रहेको ‘सिक्दै, कमाउँदै’ कार्यक्रमअन्तर्गत कृषि विषयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले व्यावहारिक र सीपमूलक प्रशिक्षण पाइरहेको राजदूतले बताए। उक्त कार्यक्रममार्फत विद्यार्थीहरूले सैद्धान्तिक ज्ञान मात्र होइन, आधुनिक कृषि प्रविधिको प्रत्यक्ष अनुभवसमेत प्राप्त गर्ने गरेको उनको भनाइ छ।

यसै कार्यक्रममार्फत इजरायल पुगेका नेपाली युवाहरूले कृषि क्षेत्रको ज्ञान, सीप र अनुभव हासिल गर्दै उल्लेखनीय प्रगति गरिरहेको राजदूत बासले बताए।