रास्वपा सांसद चौधरीले राष्ट्रवाद, देशभक्ति र सार्वभौमिकताजस्ता विषय नाप्न वा जाँच्न नसकिने भएकाले संसद्मा प्रश्न नउठाउन प्रतिपक्षी दलहरूलाई आग्रह गरेका छन्। उनले भारतको संसद्ले बोल्ने विषयवस्तु प्रतिपक्षी दलहरू किन उठाउँछन् भनेर समेत प्रश्न गरेका छन्।
संसद् बैठकमा बोल्दै उनले प्रतिपक्षी दलहरूलाई राष्ट्रवाद, देशभक्ति वा सार्वभौमिकताको रंग र आकार कहिले देखेका हुन् भनेर प्रश्न गरे। यस्ता कुराको मापन गर्न नसकिने भएकाले एकैचोटि प्रश्न गर्न नहुने उनको तर्क छ।
यस्ता विषय संसद्मा नउठाइयोस् भन्ने आग्रह गर्दै उनले दुई पक्षबीच कुनै भ्रम वा कन्फ्युजन रहे आपसी समझदारीमा बसेर मेटाउन सकिने पनि बताए।
संसद् र सरकारबीच आपसी जवाफदेहिता
सोही क्रममा सांसद चौधरीले संसद् र सरकारबीच आपसी जवाफदेहिता रहने अभिव्यक्ति दिएका छन्। कार्यपालिका र व्यवस्थापिकाको मूल्य र मान्यताबारे बोल्दै उनले संसद् सरकारप्रति उत्तरदायी हुने र सरकार पनि संसद्प्रति उत्तरदायी हुने बताए।
संसद्सँगको सम्बन्धलाई लिएर सरकार पनि गम्भीर बन्नुपर्नेमा उनले जोड दिए।
प्रतिपक्षको आपत्ति
सांसद चौधरीको भनाइप्रति प्रमुख प्रतिपक्षी कांग्रेसका सचेतक निश्कल राईले आपत्ति जनाएका छन्। प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गलत भएको भन्दै उनले प्रतिपक्षी दलहरूले आगामी दिनमा पनि आफ्नो विरोध कायमै राख्ने बताए।
जेठ १७ यताका संसद् बैठकहरूमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै आएका छन्।






