मुख्य सामग्रीमा जानुहोस्

एक महिनादेखि बन्द मेची राजमार्ग: इलाम, पाँचथर र ताप्लेजुङको झापासँग सम्पर्क टुट्यो

गत असार २३ गतेको पहिरोले इलाम–राजदुवाली सडकखण्ड एक महिनादेखि बन्द छ। इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङको झापासँग सडक सम्पर्क टुटेपछि दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ र ग्यास अभाव देखिएको छ।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur

श्रावण २३, २०८३ । गत असार २३ गते इलाम–राजदुवाली सडकखण्डमा खसेको पहिरोले एक महिना बितिसक्दा पनि मेची राजमार्ग सञ्चालनमा आउन सकेको छैन। नियमित सडक अवरुद्ध हुँदा इलाम सदरमुकाम, पाँचथर र ताप्लेजुङबाट झापातर्फको आवतजावत प्रभावित भएको छ।

इलाम नगरपालिका–९ मा पहिरो जाँदा सडकको केही भाग भासिएको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार माथिबाट लेदोसहितको पहिरो खस्ने क्रम रोकिएको छैन। पहिरो पन्छाएर भासिएको भाग पुरेपछि ग्राभेल गरी सडक सञ्चालन गर्ने योजना रहेको उनले बताए। तर, वर्षाका कारण दलदल भएकाले काम गर्न नसकिएको र घाम लागेको तीन–चार दिनपछि मात्र काम अघि बढाउन सम्भव हुने उनको भनाइ छ।

सडक खुलाउन सबैको प्रयास

सडक डिभिजन कार्यालय इलामका डिभिजन प्रमुख पवन भट्टराईले सुरक्षाकर्मी र स्थानीयको सहकार्यमा सडक खुलाउने प्रयास जारी रहेको बताए। पानी परेपछि सडक भासिने समस्याले काम निरन्तर हुन नसकेको उनको भनाइ छ।

सडक अवरुद्ध भएपछि झापातर्फ जाने सवारीसाधन माइखोलाको वारिसम्म र झापाबाट आउने सवारीसाधन माइखोलाको पारिसम्म आउने गरेका छन्। बीचको पहिरो क्षेत्र यात्रुहरूले करिब डेढ किलोमिटर पैदल पार गर्नुपर्ने बाध्यता छ।

स्ट्रेचरमा बोकेर सहयोग

पहिरो वारपार गर्न नसक्ने बिरामी, अशक्त र ज्येष्ठ नागरिकलाई सुरक्षाकर्मीको टोलीले स्ट्रेचरमा बोकेर माइखोलासम्म पुर्‍याउने गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कुलदीप चन्दका अनुसार प्रहरी निरीक्षक देविदत्त मोतेको नेतृत्वमा १० जनाको टोली आलोपालो खटिएको छ।

प्रहरी टोली २४ सै घण्टा सहयोगका लागि तयार रहन्छ भने सशस्त्र प्रहरी र नेपाली सेनाको टोली बिहानदेखि बेलुकासम्म समन्वय गर्छ। गत असार १७ गतेदेखि प्रहरीले उक्त क्षेत्रमा सहायता कक्ष स्थापना गरेको छ।

वैकल्पिक मार्ग पनि भरपर्दो छैन

विकल्पका रूपमा प्रयोग हुँदै आएको मेची करिडोरअन्तर्गत पुवाखोला र जोगमाई खोलामा पुल नहुँदा अर्को समस्या थपिएको छ। वर्षाका बेला बाढीले अस्थायी डाइभर्सन बगाउने गरेकाले इलामबाट झापा झर्ने भरपर्दो वैकल्पिक सडक छैन।

गत असोज १८ गते पहिरोले अवरुद्ध भएको सोही सडक १४ दिनपछि मात्र खुलेको थियो। यसपटक भने सडक सबैभन्दा लामो समयसम्म बन्द रहेको छ।

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि

लामो अवरोधका कारण इलामका बजारमा दैनिक उपभोग्य सामग्री र निर्माण सामग्री महँगिएका छन्। जिल्लास्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलेका अनुसार सामान्य समयमा झापाबाट इलामसम्म प्रतिकिलो दुई सय रुपैयाँमा ढुवानी हुने सामानको भाडा अहिले पाँच सयदेखि छ सय रुपैयाँ पुगेको छ।

मेची राजमार्गमा ठूला सवारीसाधन चल्न नसकेपछि साना गाडीमा सामान ल्याउनुपर्ने बाध्यता छ। स्थानीय प्रकाश नेपालका अनुसार बजारमा खाना पकाउने ग्यासको अभाव देखिएको छ। यसअघि आधा सिलिण्डर बिक्री गर्दा केही सहज भए पनि पूरा सिलिण्डर आपूर्ति गर्न थालेपछि समस्या बढेको उनले बताए। आफ्नै घर भएकाले विकल्प खोज्न सक्ने तर भाडाको कोठामा बस्ने विद्यार्थी सबैभन्दा बढी मारमा परेको र विद्युत् आपूर्ति नियमित नहुँदा विद्युतीय चुलो समेत चलाउन नसकिने अवस्था रहेको उनको भनाइ छ।