भरतपुर महानगरपालिकाको मध्य भेगको घना बस्तीमा दुई महिनादेखि चितुवाको त्रास बढेको छ। माउ चितुवा दुई बच्चासहित आवादी क्षेत्रमा डुल्न थालेपछि स्थानीय बासिन्दा डराएका छन्। डिभिजन वन कार्यालयले एउटा बच्चालाई नियन्त्रणमा लिए पनि माउ र अर्को बच्चा भने फरार नै छन्।
महानगरपालिका–५, १५ र १६ का क्षेत्रमा चितुवा आउजाउ गर्ने गरेको स्थानीयले बताएका छन्। मोहनपुर टोलमा शुक्रबार राति करिब साढे ८ बजे चितुवा देखिएको थियो। साइकलमा शिवघाटतर्फ आउँदै गरेका सरोज दानीले आश्रम चोकमा एउटा चितुवा र बच्चा देखे। उनले तुरुन्तै नजिकै राम गौतमको आँगनमा खेलिरहेका बालबालिकालाई भित्र जान आग्रह गरे। राम गौतम र छिमेकी भद्रलाल लम्साल पनि बाहिर निस्किएका थिए। भद्रलालका अनुसार चितुवाको माउ र बच्चा करेलाको झ्याङ, झाडी र उखुबारी रहेको ठाउँतिर फर्किएका थिए। तर टोलबासीले त्यहाँ गएर खोज्न सकेनन्। राम गौतमको घरमा भाञ्जाभाञ्जीसहित तीन बालबालिका छन्। घरआँगनमै चितुवा देखिएपछि उनीहरूको डर अझै बढेको छ।
नारायणगढदेखि चार किलोमिटर पश्चिममा आतंक
नारायणगढबाट करिब चार किलोमिटर पश्चिममा रहेको मोहनपुर टोल चितुवाको आतंकको मुख्य केन्द्र बनेको छ। मोहनपुरदेखि करिब दुई किलोमिटर पश्चिम–दक्षिणमा पर्ने गोपाल चोकमा पनि चितुवा देखिने गरेको दुई महिना भएको छ।
गोपाल चोकमा बन्द अवस्थाको पुरानो पोल्ट्री फारमको खाली जग्गामा झाडी बढेर जङ्गलजस्तै भएको छ। त्यहाँ चितुवा बस्ने गरेको पुष्टि गर्न क्यामेरा जडान गरिए पनि क्यामेरामा चितुवा नभई दुम्सी र कालिज मात्र देखिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी देवी पौडेलले बताए।
साउन १२ गते साँझ गोपाल चोककै पोल्ट्री फारममा चितुवाले एउटा कुकुर मारेको थियो। त्यसपछि अन्तर्राष्ट्रिय बाघ दिवसको दिन राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) सँगको समन्वयमा खोर राखेर भित्र कुकुर राखिएको थियो। सोही राति खोरमा चितुवाको एउटा बच्चा परेपछि वन कार्यालयले नियन्त्रणमा लिएको हो। तर चितुवा दुई बच्चासहित आएकाले अर्को बच्चा र माउ भने फरार छन्।
नियन्त्रणका लागि थप प्रयास जारी
चितुवा नियन्त्रणका लागि वन कार्यालयले तीन स्थानमा खोर राखेको छ। खोर वरपर माउ र बच्चाको खुट्टाको छाप देखिए पनि खोरमा चितुवा नपरेको सूचना अधिकारी पौडेलले बताए। चितुवाले खोर छल्ने गरेकाले एनटीएनसीसँगको परामर्शमा खुट्टामा अल्झिने पासो राख्ने तयारी भइरहेको छ। उनले दसदेखि पन्ध्रवटासम्म पासो राख्न सके नियन्त्रणमा सहयोग पुग्ने बताए। सम्भावित क्षेत्रमा खोर पनि राख्न नछाडिने उनको भनाइ छ।
यसैबीच चितवनकै आँपटारी क्षेत्रमा अर्को चितुवा देखिएकाले चुनौती थपिएको छ। भरतपुर आडकै आँपटारीमा समेत चितुवा देखिएपछि नियन्त्रणको काम झनै जटिल बनेको छ। डिभिजन वन कार्यालयका प्रमुख तथा डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार बच्चा हुर्काउनका लागि चितुवाले सुरक्षित ठाउँ खोज्दै घना जङ्गल छाडेर बस्तीतिर आएको हुन सक्छ। बस्तीमा दिनभर झ्याङ र झाडीमा लुक्ने चितुवाले कुकुर मारे पनि मान्छे र पशुचौपायामा भने आक्रमण गरेको छैन।
तर स्थानीय भने त्रसित छन्। मोहनपुरका बासिन्दा तथा सामुदायिक वन उपभोक्ता महासंघ चितवनका पूर्व जिल्ला अध्यक्ष सुरबीर पोखरेलले चितुवालाई चाँडो नियन्त्रणमा लिनुपर्ने धारणा राखे। उनले चितुवा नियन्त्रणमा नआएसम्म स्थानीय बासिन्दा निर्भय हुन नसक्ने बताए।






