मुख्य सामग्रीमा जानुहोस्

उपत्यकाका ग्यास डिपोमा सादा पोसाकका प्रहरी, कालोबजारीविरुद्ध अनुगमन सुरु

ग्यासको कालोबजारी रोक्न उद्योगमन्त्री गौरी यादवको आग्रहमा गृहमन्त्री सुदन गुरुङले प्रहरी परिचालनको निर्देशन दिएका थिए। सोहीअनुसार आइतबारदेखि उपत्यकाका ग्यास डिपोमा सादा पोसाकका प्रहरीले अनुगमन सुरु गरेका हुन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur

काठमाडौं उपत्यकाका ग्यास डिपोमा आइतबार बिहानैदेखि सादा पोसाकका प्रहरीले अनुगमन थालेका छन्। खाना पकाउने ग्यासको कालोबजारी रोक्न गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा सादा पोसाकका प्रहरी परिचालन गरिएको हो।

भारतबाट ग्यास आयात सहज भए पनि बजारमा एकाएक अभाव देखाएर उपभोक्तालाई महँगो मूल्यमा ग्यास बेच्ने गरिएको उद्योग मन्त्रालयमा गुनासो आइरहेको थियो। त्यसपछि उद्योगमन्त्री गौरी यादवले यसबारे गम्भीर चासो देखाएकी थिइन्।

उद्योगमन्त्री यादवको आग्रहमा गृहमन्त्री सुदन गुरुङले प्रहरी प्रशासनलाई अनुगमनका लागि निर्देशन दिए। उनकै निर्देशनअनुसार आइतबारदेखि काठमाडौं उपत्यकाका विभिन्न डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको हो।

तत्काल कारबाहीको तयारी

ग्यास लुकाएर राख्ने, कृत्रिम अभाव सिर्जना गर्ने, निर्धारित मूल्यभन्दा बढी लिने र कालोबजारी गर्ने जोकोहीलाई तत्काल कारबाही गर्ने गरी प्रहरी खटाइएको बताइएको छ।

निगरानी विस्तार गरिने

उपत्यकाको अनुगमनबाट प्राप्त जानकारीका आधारमा अन्य जिल्लाका ग्यास डिपो र बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी बढाइने गृह मन्त्रालयले जनाएको छ।

आपूर्ति सहज रहेका बेला बजारमा कृत्रिम अभाव सिर्जना गरेर उपभोक्तालाई सास्ती दिने काम सरकारले सहन नहुने अडान लिएको छ। कालोबजारी नियन्त्रणका लागि अनुगमन प्रक्रिया अझ कडा पार्ने तयारी रहेको सरकारको भनाइ छ।