मुख्य सामग्रीमा जानुहोस्

अदुवाको मूल्यवृद्धिपछि इलामका किसान खेती विस्तारमा

अदुवाको आकर्षक बजार मूल्य र दोहोरो फाइदाका कारण इलामका किसान व्यावसायिक खेतीतिर थप आकर्षित भएका छन्। यस वर्ष धेरै किसानले बिउ रोपाइ बढाएको छ भने जिल्लामा उत्पादन क्षेत्र पनि विस्तार भइरहेको छ।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur

गत वर्ष अदुवाको राम्रो बजार भाउ पाएपछि इलामका किसानहरू व्यावसायिक खेतीतिर थप आकर्षित भएका छन्। उत्पादन बढ्ने सम्भावना देखेर यस वर्ष धेरै किसानले बिउ रोपाइ बढाएका छन्। जिल्लामा अहिले तीन हजार २२१ हेक्टर क्षेत्रमा व्यावसायिक अदुवाखेती हुँदै आएको छ भने गत वर्ष ५० हजार ६२० मेट्रिक टन अदुवा उत्पादन भएको थियो।

माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले पाँच रोपनी क्षेत्रमा गरेको अदुवाखेतीबाट गत वर्ष ९० मन उत्पादन गरेका थिए। उनले २० मन बिउ राखेर बाँकी प्रतिमन (४० केजी) चार हजार पाँच सयका दरले बेच्दा रु तीन लाख १५ हजार आम्दानी भएको थियो। यसपालि उनले २० मन बिउ रोपेका छन् र १२० मन उत्पादन हुने अपेक्षा गरेका छन्। पोहोरकै मूल्य कायम रहे उनको आम्दानी पाँच लाख नाघ्ने लिम्बूको भनाइ छ।

माङसेबुङ–२ कै अर्का किसान राजकुमार राईले गत वर्ष ५० मन अदुवा प्रतिमन चार हजारका दरले बिक्री गर्दा दुई लाखभन्दा बढी कमाए। यस वर्ष उनले २० मन बिउ रोपेका छन्। अदुवाकै आम्दानीले घरखर्च र छोराछोरीको पढाइ धानिएको उनले बताए। खेती विस्तार भएकाले आगामी वर्षबाट केही रकम बचत हुन सक्ने उनको अपेक्षा छ।

माङसेबुङ–३ का तेजु राईले पनि यस वर्ष व्यावसायिक अदुवाखेतीमा फड्को मारेका छन्। उनले १० रोपनी क्षेत्रमा खेती विस्तार गर्दै ६० मन बिउ रोपेका छन्। यसअघि उनी १० मन मात्र रोप्ने गर्थे। जिल्लाका किसानहरू अदुवाप्रति आकर्षित हुँदै गएपछि आफू पनि व्यावसायिक खेतीमा लागेको उनले सुनाए। राम्रो आम्दानीका कारण धानलगायत अन्य बाली छाडेर किसानहरू अदुवातिर लाग्ने क्रम बढेको उनको भनाइ छ।

दोहोरो फाइदा र मूल्यवृद्धि

अदुवाको मुख्य उत्पादन अर्थात् बच्चा उत्पादन हुने बेला प्रतिमन चार हजार पाँच सयसम्म पुगेको थियो। अहिले भने माउ अदुवाको भाउ प्रतिमन सात हजारसम्म पुगेको छ। स्थानीय व्यापारी राम जबेगूका अनुसार झापाको धुलाबारीमा माउ अदुवा प्रतिमन सात हजारसम्म किनबेच भइरहेको छ भने इलाममा छ हजारसम्म मूल्य पाइएको छ। बच्चाबाट छुट्टै र माउबाट छुट्टै आम्दानी हुने भएकाले किसानले दोहोरो फाइदा पाउने उनले बताए। बच्चा र माउ दुवैको मूल्य मनासिब पाएपछि किसानहरू अदुवाखेतीतिर आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

इलामका किसानहरूले ठूलो (भैँसे), मझौला र साना गरी तीन किसिमका अदुवाखेती गर्दै आएका छन्। भदौसम्म माउ अदुवाको बिक्री हुने र मुख्य उत्पादन (बच्चा) कात्तिकदेखि जेठसम्म उत्पादन हुने गरेको छ। यहाँको अदुवा इलाम बजारसहित बिब्ल्याँटे, मङ्गलबारे, गजुरमुखी, चतुरे, माङसेबुङ, पशुपतिनगर, दानबारी र हर्कटेलगायत बजारमा खपत हुँदै आएको छ।