पेरिस, श्रावण २४ । केही साताअघि न्युयोर्कमा सम्पन्न ‘द ओडिसी’ प्रिमियरमा अभिनेत्री जेन्डायाको पहिरनबारे सोधिएको प्रश्नमा उनका फेसन स्टाइलिस्ट ल रोचले जवाफ दिए, ‘फेकल म्याटर’ । प्वाँखयुक्त सेतो पखेटा जडित खुलेको काँधको सेतो गाउनमा परीझैं देखिएकी जेन्डायाले त्यस अवसरमा यही ब्रान्डको डिजाइन लगाएकी थिइन् । फ्रेन्च शब्द ‘माटिएर फेकाले’बाट आएको यो ब्रान्डनेमको शाब्दिक अर्थ भने ‘दिसा’ हो ।
पेरिसस्थित यो हाइ–एन्ड फेसन हाउसको स्थापना एक दशकभन्दा अघि भए पनि यतिबेला यसको चर्चा चुलिएको छ । ‘फेकल म्याटर’का डिजाइनर हुन्, स्टिभन राज भास्करन र हाना रोज डाल्टन । करिब एक दशकअघि मन्ट्रियलको फेसन कलेजमा अध्ययन गर्दै गर्दा उनीहरूले सेकेन्डह्यान्ड सपिङ प्लेटफर्म डिपपमा आफ्ना डिजाइन बेच्न थालेका थिए । पछि पेरिस फेसन विकसम्म आफ्ना कलेक्सन पुर्याउने तहमा उनीहरूको यात्रा पुगेको छ ।
नामकै माध्यमबाट फेसन उद्योगमाथि प्रश्न
ब्रान्डको नाम जति अनौठो देखिन्छ, यसले फेसन उद्योगको फोहोर पक्ष र फजुल खर्चमाथि प्रश्न उठाउने उद्देश्य राखेको डिजाइनरहरू बताउँछन् । डाल्टनले गत वर्ष ‘भोग’ म्यागजिनसँगको कुराकानीमा ‘ग्ल्यामरस तरिकाले भन्न सकिने’ शब्द खोज्दा यो नाम जुरेको बताएकी थिइन् । भास्करनले ‘फेसन न्युरोसिस’ पोडकास्टमा भनेका छन्, यो नामले फेसन क्षेत्रको फोहोर पक्षलाई चुनौती दिन खोज्छ । सुरुमा उनीहरूले अझ अशिष्ट शब्द प्रयोग गरे पनि पछि फ्रान्सेली भाषामा अनुवाद गरेर यसलाई ‘ग्ल्यामरस’ बनाइएको डाल्टनले सुनाएकी थिइन् ।
उनीहरूका डिजाइनमा सेतो मेकअप, मुन्डन गरिएको टाउको, खौरिएको आइब्रो तथा वास्तविक खुट्टाजस्तो देखिने स्किन बुटसहितका एलियनप्रतीत हुने थिमहरू पाइन्छन्, जसले परम्परागत सौन्दर्य मान्यतालाई भत्काउने प्रयास गरेको देखिन्छ ।
रेड कार्पेटदेखि फेसन विकसम्म
यस ब्रान्डका डिजाइन अहिले विश्वप्रसिद्ध कलाकारहरूको रोजाइमा पर्न थालेका छन् । जेन्डाया, लेडी गागा, डेमी मूर, काइली जेनर र म्याडोनाजस्ता हस्तीहरूले विभिन्न सार्वजनिक उपस्थितिमा ‘फेकल म्याटर’का डिजाइन लगाइसकेका छन् ।
लेडी गागाले हालैका कोचेला प्रस्तुति तथा यसै वर्षको ग्रामी अवार्डमा प्वाँखजडित ब्ल्याक गाउन लगाएकी थिइन् । काइली जेनरले डकिंनको एउटा टेलिभिजन विज्ञापनमा यसै ब्रान्डको गुलाबी ब्लेजर लगाएपछि इन्टरनेटमा ब्रान्डको नाम निकै चर्चामा आएको थियो । मोडल ग्याब्रिएट बेख्टेलको मट्टी हिलीसँगको विवाहका लागि पनि ब्रान्डले पहिलोपटक भिक्टोरियन शैलीको फाटेको गाउन डिजाइन गरेको थियो ।
यसै वर्षको मेट गालामा अभिनेत्री साराह पल्सनले डलर नोटले बनेको आँखा छोप्ने मास्कसहित खरानी रङको ठूलो डिस्ट्रेस्ड बल गाउन लगाइन् । जेफ बेजोस प्रमुख अतिथि रहेको सो अवसरमा उक्त पहिरनले विश्वका सीमित अर्बपतिहरूले समाज र अर्थतन्त्रमा पार्ने प्रभावबारे राजनीतिक तथा सामाजिक प्रश्न उठाएको थियो । ब्रान्डले यस वर्षको मार्चमा प्रस्तुत गरेको ‘द वान पर्सेन्ट’ शृंखलामा मोडेलहरूले डलर नोटका मास्क र रातो पन्जा लगाएका थिए, जसले सत्ता र धनको प्रभावलाई व्यंग्य गरेको थियो ।
फेसन जगत्को ध्यान यिनैतिर
पेरिस फेसन विकका तीनवटै शोमा उपस्थित भएकी फेसन लेखिका क्रिस्टेन बेटम्यानका अनुसार ठूला लक्जरी ब्रान्डका डिजाइनहरू एकआपसमा मिसिँदै उस्तै देखिन थालेका बेला भास्करन र डाल्टनको काम फरक र नक्कल गर्न नसकिने खालको छ । सेलिब्रिटी स्टाइलिस्ट ब्राड गोरेस्कीले उनीहरूको काममा सुन्दरता र क्षयीकरण तथा कठोरता र कोमलताबीचको द्वन्द्व देखिने बताए । गोरेस्कीले यस वर्ष कान्स फिल्म फेस्टिभलमा जुरी सदस्य बनेकी डेमी मूरका लागि ‘द वान पर्सेन्ट’ कलेक्सनबाटै ‘कपकेक’ आकारको घेरादार स्कर्ट र गुलाबी रङको फाटेको गाउन छनोट गरेका थिए ।
कलेज ला साल्ले मन्ट्रियलका फेसन डिजाइन शिक्षक मिलान ट्यानेडजिकोभले भास्करन र डाल्टनको कामले अन्ततः कला र फेसनबीचको सन्तुलन फेला पारेको बताए । उनका अनुसार उनीहरूको डिजाइनको मूल मर्म अभिव्यक्ति स्वतन्त्रता हो र यसले मानवीय सीमालाई तोड्न खोज्छ ।
सन् २०२४ मा म्याडोनाको कन्सर्टको ब्याकस्टेजमा डोभर स्ट्रिट मार्केटका अध्यक्ष एड्रियन जोट्टेलाई भेटेपछि उनीहरूले सो विश्वव्यापी रिटेल तथा कन्सेप्ट स्टोरको संरक्षण प्राप्त गरेका थिए । सडक स्तरबाट सुरु भएको सानो व्यवसाय अहिले विश्वकै सबैभन्दा ठूलो फेसन प्लेटफर्म पेरिस फेसन विकसम्म पुगेको छ । ‘क्रिश्चियन लुबउटिन’सँगको सहकार्यमा उनीहरूले आफ्नो ट्रेडमार्क ‘कर्भड हिल’लाई लुबउटिनको सिग्नेचर रातो सोलसँग जोडेर नयाँ जुत्ता पनि बजारमा ल्याइसकेका छन् । आगामी सेप्टेम्बरको पेरिस फेसन विकमा उनीहरूको अर्को शृंखला कस्तो आउने हो भन्ने चासो फेसन जगत्मा बढ्दो छ ।


