भारतले नेपालका लागि पठाएका राजदूत नवीन श्रीवास्तव र प्रधानमन्त्री वालेन्द्र शाहबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साउन २५ गते उनीहरूबीच भेटघाट भएको हो।
सरकार गठन भएको चार महिनापछि विदेशी राजदूतसँग प्रधानमन्त्री शाहको यो पहिलो एक्लाएक्लै भेट हो। यसअघि उनले विदेशी राजदूतसँग व्यक्तिगत रूपमा भेटघाट नगर्ने अडान लिँदै आएका थिए।
द्विपक्षीय सहकार्यका विषयमा छलफल
प्रधानमन्त्री कार्यालयले दिएको जानकारीअनुसार भेटमा नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित, विकास साझेदारी र सहकार्यसँग सम्बन्धित विभिन्न विषयमा कुराकानी भएको थियो।
सो अवसरमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै दुई मुलुकबीचको सम्बन्ध तथा सहकार्यलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने र साझा हितका क्षेत्रमा मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
चिनियाँ राजदूतसँग पनि भेटको तयारी
प्रधानमन्त्री शाहले चिनियाँ राजदूत चाङ माओमिङसँग पनि भेटवार्ता गर्ने भएका छन्। यसअघि दुई साताअघि भारतीय र चिनियाँ राजदूत दुवैसँग भेट्ने योजना बने पनि सुनसरीसहितका जिल्लामा भएका हिंसात्मक घटनाका कारण ती भेटघाट स्थगित गरिएको थियो।
छिमेकी दुवै मुलुकका राजदूतलाई नजिकैको समयमा भेट्ने निर्णय भएकाले नेपालका लागि दुवै देशको समान महत्त्व छ भन्ने सन्देश दिन खोजिएको बुझिन्छ।
प्रधानमन्त्रीले सुरुमा राजदूतहरूसँग मात्र होइन, भ्रमणमा आउने वरिष्ठ विदेशी अधिकारीहरूसँग समेत एक्लाएक्लै भेट नगर्ने अडान राखेका थिए। यही अवधिमा उनले तीन दिने नेपाल भ्रमणका लागि असार २२ गते काठमाडौं आएका एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डालाई भने भेटिसकेका छन्।






