सरकारले भरी सिलिन्डर ग्यास वितरण गर्न थालेको १५ दिन नबित्दै उपभोक्ताले बजारमा ग्यास नपाएको गुनासो गर्न थालेका छन्। कतिपयले भारतबाट आपूर्ति नआएको वा आयात घटेकाले अभाव भएको आशंका गरे पनि नेपाल आयल निगमको तथ्यांकले ग्यास आयात नियमित रहेको देखाउँछ। निगमका अनुसार आयातमा समस्या नभई आन्तरिक व्यवस्थापन कमजोरी र उपभोक्ताको अत्यधिक सञ्चयले बजारमा अभाव देखिएको हो।
गत फागुनमा पश्चिम एसियाको द्वन्द्व तथा इजराइल–इरान युद्धका कारण ग्यास आपूर्ति असहज बनेपछि सरकारले फागुनको अन्तिम सातादेखि उपभोक्तालाई आधा सिलिन्डर अर्थात् ७.१ केजी मात्र ग्यास दिने व्यवस्था गरेको थियो। भारतबाट आपूर्ति सहज हुने अवस्था बनेपछि भने निगमले ३१ असार २०८३ देखि साविककै १४.२ केजीको भरी सिलिन्डर वितरण सुरु गरेको थियो। त्यसयता बजारमा फेरि ग्यास अभाव देखिन थालेको हो।
ग्यास आयात र बिक्रीको अवस्था
नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार अहिले ग्यास आयात नियमित छ। साउन २३ सम्ममा ४१ हजार २ सय ९४ टन ग्यास आयात भइसकेको उनले बताए। पश्चिम एसियामा तनाव सुरु भएको फागुन महिनामा ५१ हजार १ सय ९२ टन ग्यास बिक्री भएको निगमको तथ्यांक छ।
आधा सिलिन्डर वितरण चलिरहेका बेला ग्यास बिक्री उल्लेख्य घटेको देखिन्छ। चैतमा ३८ हजार ८ सय, वैशाखमा ३२ हजार ५६ र जेठमा ३३ हजार ८ सय ४२ टन ग्यास बिक्री भएको निगमको तथ्यांकले देखाउँछ। असारमा भने बिक्री बढेर ४४ हजार ५ सय ४४ टन पुगेको छ। यसअघि २०८१/८२ सालको चैत, वैशाख, जेठ र असारमा क्रमशः ४८ हजार ३ सय २७, ४६ हजार ५ सय ३, ४९ हजार ८ सय १६ र ४७ हजार ९ सय ३३ टन ग्यास आयात भएको थियो।
व्यवस्थापन कमजोरी र बढी सञ्चय
कार्यकारी निर्देशक साहका अनुसार चार महिनासम्म आधा सिलिन्डर बेच्दा उपभोक्ताबाट खासै गुनासो आएको थिएन। भरी सिलिन्डर दिन थालेपछि भने बजारमा रहेका खाली सिलिन्डर सबै भराउन आएकाले एकैपटक माग बढेको र समस्या देखिएको हो। उनले ग्यास आपूर्ति नियमित रहेको र कुनै समस्या नरहेको बताए। केही दिनभित्रै ग्यास सहजै उपलब्ध हुने उनको भनाइ छ।
एउटा मात्र सिलिन्डर राख्ने उपभोक्ताले ग्यास नपाइरहेको र अप्ठ्यारोमा परेको उनले स्वीकार गरेका छन्। सरकारी निकाय, उद्योगी र विक्रेताहरू भने उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चय गरेकाले अभाव भएको बताउँछन्। निगमले २०७८ मा गरेको सिलिन्डर प्रमाणीकरणअनुसार मुलुकभर १ करोड ४४ लाख सिलिन्डर छन्। तर उद्योगी र विक्रेताले बजारमा १ करोड ७५ लाख सिलिन्डर रहेको जनाएका छन्। घरायसी उपभोक्ता वा होटल, रेस्टुराँले कति सिलिन्डर राख्न पाउने भन्ने नीतिगत व्यवस्था नरहेको पनि उल्लेख छ।
दीर्घकालीन समाधानको प्रयास
बारम्बार दोहोरिने ग्यास अभावलाई दीर्घकालीन रूपमा समाधान गर्न निगमले ग्यास पाइपलाइन विस्तारको तयारी अघि बढाएको छ। साथै ५८ वटा ग्यास उद्योगलाई घटाएर ३० भन्दा कममा सीमित गर्ने योजना पनि अघि सारिएको छ। उद्योगीसँगको समन्वयमा ग्यास कुन ठाउँमा कहिले पुग्ने भन्ने व्यवस्था मिलाइएको र अत्यधिक माग भएको क्षेत्रमा थप आपूर्ति पुर्याउने गरिएको साहले जानकारी दिए।
हाल वितरणमा देखिएको दबाब भने घट्दो क्रममा छ। टेकुमा पहिले दिनमा दुई हजार सिलिन्डरसम्म बिक्री हुने गरेकामा अहिले आठ–नौ सय सिलिन्डरमा झरेको निगमका कार्यकारी निर्देशकले बताएका छन्।






