काठमाडौं, अगस्ट ११ । भृकुटीमण्डप प्रदर्शनी स्थलमा आगामी अगस्ट २५ देखि ३० सम्म आयोजना हुने १८औं नाडा अटो शो २०२६ मा दुई सय स्टल रहने भएको छ। नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले उक्त जानकारी दिएको हो।
नाडाको स्वर्ण जयन्तीका अवसरमा आयोजना हुन लागेको यस प्रदर्शनीमा २२ प्यासेन्जर सवारी, १६ हल्का व्यावसायिक सवारी र १२ दुईपांग्रे सवारी ब्रान्डका गरी ५० ब्रान्डको सहभागिता रहनेछ। यस्तै, आठ नेपाली उत्पादकसहित ६९ कम्पोनेन्ट तथा अन्य सरोकारवाला व्यवसायले पनि आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गर्नेछन्।
स्थानको अभावमा सबै इच्छुक कम्पनीलाई स्थान दिन नसकिएको नाडाको भनाइ
अटोमोबाइल व्यवसायीबाट प्रदर्शनीका लागि उच्च माग रहे पनि स्थलको सीमित क्षमताका कारण सबै इच्छुक कम्पनीलाई समेट्न नसकिएको नाडाले बताएको छ। प्रदर्शनीले अटोमोबाइल, पेट्रोलियम तथा स्पेयर पार्ट्स क्षेत्रका व्यवसायीलाई आफ्ना उत्पादन प्रवर्द्धन गर्न र उद्योगका सरोकारवालासँग अन्तरक्रिया गर्ने मञ्च उपलब्ध गराउने अपेक्षा गरिएको छ।
सुस्त अटोमोबाइल बजारलाई चलायमान बनाउने दाबी
घरेलु उत्पादक र अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिताले सुस्त बनेको नेपालको अटोमोबाइल बजारलाई पुनर्जीवित गर्न तथा क्षेत्रमा नयाँ गति ल्याउन योगदान पुग्ने नाडाको विश्वास छ।






