इलामका किसान यतिबेला अलैँची रोपाइँमा व्यस्त छन्। देशकै अलैँची उत्पादनको मुख्य केन्द्र मानिने यस जिल्लामा अहिले अलैँची रोप्ने मुख्य सिजन चलिरहेको छ। अलैँचीको मूल्यवृद्धिसँगै किसानहरू परम्परागत अन्नबाली फल्ने खेतबारी मासेर समेत व्यावसायिक अलैँचीखेतीतर्फ आकर्षित भएका छन्।
माङसेबुङ गाउँपालिका–२ पावाका युवा मिलन लिम्बूले यस पटक करिब १५ रोपनी बारीमा अलैँचीखेती लगाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहेका ३६ वर्षीय लिम्बूले सन्दकपुर गाउँपालिकाबाट प्रतिबोट रु १४ का दरले भार्लाङ जातका तीन हजार बिरुवा किनेर रोपेका हुन्। अलैँचीले राम्रो मूल्य दिन थालेपछि अन्नबाली फल्ने बारी नै मासेर उनले खेती सुरु गरेका हुन्।
राजनीति र उत्पादनलाई सँगसँगै अगाडि बढाउनका लागि आफूले पुर्ख्यौली थलोमा अलैँचीखेती सुरु गरेको उनले बताए। राजनीतिमा टिक्नका लागि निश्चित आम्दानीको स्रोत आवश्यक पर्ने र त्यसका लागि उत्पादनमूलक काम आफूले रोजेको उनको भनाइ छ।
धान छाडेर अलैँचीतर्फ
माइजोगमाई गाउँपालिका–५ का किसान दिनेश नेम्बाङले पनि यस पटक धानखेती मासेर अलैँचीखेती विस्तार गरेका छन्। तीन वर्षअघि धान फल्ने खेतमा अलैँचीखेती थालेका उनले अहिले तीन हजारभन्दा बढी नयाँ बिरुवा रोपेका छन्। गत वर्ष उनले १३ मन सुक्खा अलैँची उत्पादन गरेका थिए।
आम्दानी र उत्पादनको तुलना गर्दा धानको तुलनामा अलैँचीले धेरै राम्रो आम्दानी दिने भएकाले खेती विस्तार गरेको उनले बताए। गत वर्षदेखि मूल्य राम्रो पाउन थालिएको र नयाँ बिरुवाले उत्पादन दिन थालेपछि आम्दानी अझै बढ्ने उनको अपेक्षा छ। धान खाद्यान्नका दृष्टिले महत्वपूर्ण भए पनि अलैँची एक पटक रोपेपछि वर्षौंसम्म उत्पादन दिने भएकाले धान फल्ने खेतमा समेत अलैँची लगाएको उनले सुनाए।
मूल्य र आम्दानीले किसान उत्साहित
माइजोगमाई–५ कै अर्जुन भण्डारी यसअघि पाखोबारीमा मात्र अलैँचीखेती गर्दै आएका थिए। उनले यस वर्ष धान फल्ने खेतमा समेत खेती विस्तार गरेका छन्। विगतमा पाखोबारीकै बागानबाट वार्षिक १० मन अलैँची उत्पादन हुने गरेको उनले बताए। नयाँ बिरुवाले उत्पादन दिन थालेपछि आउने तीन वर्षभित्र उत्पादन वृद्धि हुने उनको विश्वास छ।
गत वर्ष अलैँचीको मूल्य प्रतिमन रु एक लाख १५ हजारसम्म पुगेको थियो भने यस पटक मुख्य सिजनमा प्रतिमन (४० किलो) रु एक लाखको हाराहारीमा किनबेच भइरहेको छ। इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनाथ पौड्याल (कृष्ण) का अनुसार मूल्य राम्रो पाउन थालेपछि किसान अलैँचीखेतीप्रति आकर्षित भएका हुन्। आफ्नै जग्गामा आम्दानीमूलक नगदेबाली लगाएर राम्रो आम्दानी सम्भव छ भन्ने उदाहरण अलैँची किसानले देखाएको उनको भनाइ छ।
बाँझो जग्गामा समेत खेती, बजारको समस्या छैन
इलामका गाउँहरूमा अलैँचीखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ। बाँझो रहेका पाखाबारी, कमसल जग्गा, पानी बग्ने भिरालो र ओसिलो जमिनमा समेत अलैँचीखेती सम्भव हुने भएकाले किसानहरू यसतर्फ आकर्षित भएका हुन्। अन्नबाली लगाउने जनशक्ति अभाव र बाँदरले बाली नष्ट गर्ने समस्याले पनि किसानलाई व्यावसायिक अलैँचीखेतीतर्फ डोर्याएको देखिन्छ।
कम मेहनत र थोरै लगानीमा मनग्य आम्दानी हुन थालेपछि किसानहरूले व्यावसायिक रूपमा अलैँचीखेती गरेर लाखौं रुपैयाँ आम्दानी लिइरहेका छन्। उनीहरूले सामशाही, गोलशाही, जिर्तले र भर्लाङ्गेलगायत जातका अलैँचीखेती गर्दै आएका छन्।
बजार र यातायातको समस्या नहुँदा किसानलाई अलैँची बेच्नसमेत सहज भएको छ। व्यापारीहरू घरघरमै पुगेर अलैँची किन्ने गरेको माङसेबुङ गाउँपालिका–२ का किसान कैलाशकुमार राईले बताए। यातायातको सुविधा विस्तार भएसँगै व्यापारी र किसान दुवैलाई सहज भएको उनको अनुभव छ।
अलैँची एक सदावहार बाली भएकाले एक पटक रोपेपछि २० देखि २५ वर्षसम्म उत्पादन दिन्छ। यसको बोट एकदेखि दुई दशमलव पाँच मिटरसम्म अग्लो हुने र मध्यम खालको झाङ हुने गर्छ। समुद्र सतहदेखि ६०० मिटरदेखि २,१०० मिटरसम्मको उचाइमा यसको खेती गर्न सकिन्छ। १० देखि ३० डिग्री सेल्सियस तापक्रम हुने पहाडी क्षेत्र यसका लागि उपयुक्त मानिन्छ। बढी आद्रता र वर्षा हुने ठाउँमा अलैँची राम्रो उत्पादन हुन्छ, तर फेदमा पानी जम्न दिनु हुँदैन। वार्षिक सरदर २,००० देखि २,५०० मिलिमिटर वर्षा हुने स्थानमा यसको व्यावसायिक खेती गरिन्छ।






