चार वर्षदेखि रोहित पौडेलले बोकेको राष्ट्रिय क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी अब उनको काँधबाट हटेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली एकदिवसीय (ओडीआई) टोलीको नेतृत्व पुनः सन्दीप लामिछानेलाई सुम्पेको छ।
विसं २०७९ कात्तिक २५ मा रोहितलाई राष्ट्रिय टोलीको कप्तान बनाइएको थियो। त्यसबेला नेपाली क्रिकेट आफ्नै इतिहासकै कठिन मोडमा थियो। तत्कालीन कप्तान सन्दीपविरुद्ध बलात्कारको आरोप लागेपछि उनी निलम्बनमा परेका थिए र कप्तान पद रिक्त थियो। त्यही विषम परिस्थितिमा क्यानले तत्कालीन उपकप्तान, २० वर्षीय रोहितलाई नेतृत्व दिएको थियो।
त्यतिबेला रोहित नेपाली क्रिकेटका उदीयमान ब्याटर मात्रै थिए। कप्तान बनेसँगै उनले टोलीको नेतृत्व, नतिजाको दबाब र आफ्नो प्रदर्शनको जिम्मेवारी एकसाथ बोक्नुपर्यो।
जितको लहरपछि ऐतिहासिक उपलब्धिहरू
रोहितले कप्तानी सम्हाल्दा टोली आईसीसी विश्वकप लिग–२ को अंक तालिकामा पुछारतिर थियो र ओडीआई मान्यता नै गुम्ने खतरा थियो। ब्याटिङमा निरन्तरता नहुँदा टोलीको मनोबल खस्किएको थियो, मैदानबाहिर पनि आन्तरिक उथलपुथलका कारण वातावरण सहज थिएन।
तर, रोहितको नेतृत्व र मुख्य प्रशिक्षक मोन्टी देसाईको रणनीतिले टोलीमा नयाँ ऊर्जा भर्यो। ‘ह्याप्पी ड्रेसिङ रुम’ को मान्यतासहित अघि बढेको नेपालले लिग–२ का अन्तिम १२ खेलमध्ये ११ मा जित निकाल्दै चमत्कार गर्यो। यसले ओडीआई मान्यता जोगाउँदै नेपाललाई जिम्बाबेमा भएको विश्वकप छनोटसम्म पुर्यायो।
लिग–२ को सफलतापछि रोहितकै नेतृत्वमा नेपालले सन् २०२३ को एसीसी प्रिमियर कपको उपाधि जित्यो र एसिया कपमा छनोट भयो। एसिया कपमा भारत र पाकिस्तानजस्ता टोलीसँग पहिलोपटक प्रतिस्पर्धा गर्ने ऐतिहासिक अवसर पनि नेपालले पायो।
रोहितकै कप्तानीमा नेपाल लगातार दुई टी–२० विश्वकप खेल्न सफल भयो। सन् २०२४ को संस्करणका लागि नेपालमै भएको एसिया छनोटमा फाइनल पुगेपछि नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट भएको थियो। त्यसपछिको संस्करण पनि नेपालले खेल्यो। यसबीच एसियन गेम्समा मङ्गोलिया र माल्दिभ्सविरुद्ध कीर्तिमानी प्रदर्शन गर्दै क्वाटरफाइनलमा भारतसँग खेल्ने अवसर पनि नेपालले पायो। यूएईमा भएको शृङ्खलामा नेपालले वेस्ट इन्डिजविरुद्ध २–१ को नतिजा निकाल्दै ऐतिहासिक टी–२०आई शृङ्खला आफ्नो पक्षमा पारेको थियो।
कप्तानीको तथ्यांक र रेकर्ड
रोहितको नेतृत्वमा नेपालले ६३ ओडीआई खेलमध्ये ३१ मा जित र ३० मा हार बेहोर्यो; २ खेल नतिजाविहीन रहे। टी–२०आईतर्फ ५९ खेलमा नेपालले ३३ जित र २१ हारको नतिजा निकाल्दा ३ खेल टाई भए, २ खेल नतिजाविहीन रहे।
व्यक्तिगत प्रदर्शन पनि उत्तिकै बलियो रह्यो। रोहित हाल ओडीआईमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् र २ हजार रन पूरा गर्ने पहिलो नेपाली पनि। उनले ओडीआईमा दुई शतक प्रहार गरेका छन्। उनको कुल २ हजार ३१३ ओडीआई रनमध्ये १५०० भन्दा बढी रन कप्तानकै हैसियतमा आएका हुन्। टी–२०आईमा कुल १८४५ रनमध्ये १३४४ रन उनले कप्तान रहँदा बनाएका थिए।
रोहितको क्रिकेट यात्रा भने कप्तानीभन्दा अगाडिदेखि नै उल्लेखनीय थियो। सन् २०१८ मा नेपालले ओडीआई मान्यता पाएपछि उनले १५ वर्ष ३३५ दिनको उमेरमा पहिलो ओडीआईमै डेब्यू गरे। सन् २०१९ मा टी–२०आई डेब्यू भयो। सोही वर्ष उनले एसीसी यू–१९ एसिया कप छनोट र एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालको नेतृत्व गरेका थिए। सन् २०२० को सेप्टेम्बरमा उनी क्यानको केन्द्रीय सम्झौतामा समेटिए।
पूर्वकप्तान र साथीहरूको प्रतिक्रिया
क्यानले रोहितलाई ‘एकपटकका लिडर, सदाका लिडर’ भन्दै धन्यवाद दिएको छ। उनको नेतृत्वमा राष्ट्रिय टोलीले महत्वपूर्ण उपलब्धि हासिल गरेको र गर्विला क्षणहरू सिर्जना भएको उल्लेख गर्दै क्यानले सामाजिक सञ्जालमार्फत आभार व्यक्त गरेको छ।
नेपाली क्रिकेटका पूर्वकप्तान तथा क्यान सचिव पारस खड्काले रोहितले कठिन समयमा टोलीलाई अभूतपूर्व उचाइमा पुर्याएको बताउँदै उनको योगदानप्रति आभार व्यक्त गरेका छन्। पूर्वकप्तान विनोद दासले सन् २०१७ को यू–१९ क्याम्पदेखि नै रोहितलाई जिम्मेवारी बोक्न सक्ने परिपक्व युवाका रूपमा चिनेको भन्दै उनको प्रशंसा गरेका छन्।
हालका टी–२०आई कप्तान दीपेन्द्रसिंह ऐरीले रोहितको नेतृत्वको यात्राले सधैंका लागि विरासत छाडेको बताएका छन्। अनुभवी पेस बलर सोमपाल कामीले टीयूको एउटा खेलमा दर्शक बाहिरिन थालेका बेला रोहितले शतक प्रहार गरेर उनीहरूलाई फर्काएको प्रसङ्ग स्मरण गरेका छन्।
नयाँ नेतृत्व, नयाँ अध्याय
रोहितको कप्तानी हटेसँगै नेपाली क्रिकेट नयाँ चरणमा प्रवेश गरेको छ। गत अप्रिलमै टी–२०आई कप्तानी दीपेन्द्रलाई हस्तान्तरण भइसकेको थियो। अब एकदिवसीय टोलीको नेतृत्व पनि सन्दीप लामिछानेको काँधमा आएको छ।
चार वर्षको यात्रामा रोहितविरुद्ध कतिपय खेलको नतिजा र रणनीतिबारे आलोचना पनि भए। तर संकटको घडीमा सम्हालेको कप्तानीले उनलाई नेपाली क्रिकेट इतिहासकै सबैभन्दा सफल कप्तानका रूपमा स्थापित गरेको मूल्यांकन हुन्छ।
कप्तानीको जिम्मेवारीबाट मुक्त भएपछि रोहित अब आफ्नो ब्याटिङमा बढी केन्द्रित हुन सक्नेछन्। चार वर्षको अन्तर्राष्ट्रिय नेतृत्व अनुभव, थुप्रै ऐतिहासिक जित र नेपाली क्रिकेटको महत्वपूर्ण अध्यायको हिस्सा बनेको परिचयसहित उनले कप्तानी यात्रा टुङ्ग्याएका छन्।





