यस वर्षको विश्व हात्ती दिवसको मूल विषयवस्तु ‘सुरक्षित एवं वातावरणमैत्री करिडोर, सुरक्षित हात्ती’ राखिएको छ। यो नाराले हात्तीका लागि वनक्षेत्रहरूलाई जोड्ने बाटो सुरक्षित राख्नुपर्नेमा ध्यानाकर्षण गराएको छ।
नेपालमा करिब २५० देखि ४०० वन्य हात्ती रहेको अनुमान छ। ती हात्ती एक वनक्षेत्रबाट अर्को वनक्षेत्रमा आवतजावत गर्न परम्परागत मार्गमा भर पर्छन्। तर बढ्दो बस्ती, खेतीयोग्य जमिन र सडक निर्माणले ती मार्गमा अतिक्रमण बढ्दै गएको छ। फलस्वरूप देशका विभिन्न क्षेत्रमा मानव र हात्तीबीच द्वन्द्व चर्किँदै गएको छ।
वनको मात्र संरक्षण गरेर हात्तीको संरक्षण हुन नसक्ने र वनहरूलाई आपसमा जोड्ने करिडोरको समेत संरक्षण आवश्यक रहेको बताइएको छ।
दश वर्षे हात्ती संरक्षण कार्ययोजना
नेपालको दशवर्षे हात्ती संरक्षण कार्ययोजना (सन् २०२५–२०३५) ले हात्तीको बासस्थान र करिडोर संरक्षण गर्ने, मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्ने र सामुदायिक संरक्षणलाई सुदृढ पार्ने लक्ष्य राखेको छ। यो कार्ययोजनाले हात्तीको दिगो संरक्षणका लागि दीर्घकालीन ढाँचा तय गर्ने अपेक्षा गरिएको छ।
कैदमा रहेका हात्तीको व्यवस्थापन
नेपालमा करिब २०० कैदमा राखिएका हात्ती रहेका छन्। ती हात्तीको कल्याण, हेरचाह र व्यवस्थापन पनि हात्ती संरक्षणको महत्त्वपूर्ण पक्ष भएको बताइएको छ।
विश्व हात्ती दिवसका अवसरमा यस पटक हात्तीको प्राकृतिक बासस्थान मात्र नभई उनीहरू आवतजावत गर्ने बाटोको संरक्षण आवश्यक रहेको सन्देश प्रवाह गरिएको छ।




