काठमाडौं, अगस्ट १३। युरोपेली संघ (ईयू) ले अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा शिक्षा, डिजिटल सीप, नवप्रवर्तन, उद्यमशीलता र युवा नेतृत्वमा केन्द्रित विभिन्न कार्यक्रम आयोजना गरेको छ। होटल मल्लामा भएको दिनभरिको कार्यक्रममा विद्यार्थी, इरास्मस छात्रवृत्ति प्राप्त विद्वान तथा पूर्वविद्यार्थी, उद्यमी, नागरिक समाजका प्रतिनिधि, निजी क्षेत्रका साझेदार र युवा नेताहरूको सहभागिता रहेको थियो।
इरास्मस मुन्डस छात्रवृत्ति
नेपालका लागि ईयू राजदूत भेरोनिक लोरेन्जोले युरोपेली संघका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न इरास्मस मुन्डस संयुक्त मास्टर डिग्री छात्रवृत्ति प्राप्त गरेका ४२ नेपाली विद्यार्थीलाई सम्मान गरिन्। सम्मानित हुनेमा २२ महिला र २० पुरुष रहेका छन्। उनीहरूले सार्वजनिक स्वास्थ्य, साइबर सुरक्षा, पत्रकारिता, नवीकरणीय ऊर्जा र दिगो निर्माणलगायत विषयमा अध्ययन गर्ने अवसर पाएका हुन्।
ईयू युथ फेस्ट २०२६
कार्यक्रमको अर्को आकर्षण रहेको ईयू युथ फेस्ट २०२६ मा एक हजार पाँच सयभन्दा बढी युवाहरू सहभागी भए। उनीहरूले एनिमेसन, रोबोटिक्स र कृत्रिम बुद्धिमत्ताजस्ता नयाँ क्षेत्रमा मेन्टरिङ र मार्गदर्शन प्राप्त गरे। साथै, सहभागीहरूले ३डी मोडेलिङ र प्रिन्टिङ, ड्रोन सिमुलेसन र एआई-संचालित खेलजस्ता गतिविधिमा सहभागी भई सिक्ने मौका पाए।
नयाँ अनुदान कार्यक्रम
ईयूले नेपाली युवाका लागि डिजिटल अर्थतन्त्रमा अवसर विस्तार गर्ने उद्देश्यले दुई नयाँ अनुदानहरू घोषणा गरेको छ। ती अनुदानहरूको कुल रकम १९ लाख १० हजार युरो रहेको छ। 'क्रियटिङ अपर्चुनिटिज फर युथ इन डिजिटल इकोनमी' (कोड) र 'अनलिइङ डिजिटल एक्सेलेरेसन एन्ड एम्बिसन अफ नेपाली युथ' (उडान) कार्यक्रमहरू सबै सात प्रदेशमा सञ्चालन गरिनेछ। यी कार्यक्रमले डिजिटल सीप, रोजगार क्षमता, उद्यमशीलता र नवप्रवर्तनमा जोड दिनेछन्। विशेषगरी युवा महिला, ग्रामीण समुदाय, कमजोर र सीमान्तकृत वर्गलाई लक्षित गरिनेछ।
कोड कार्यक्रम स्विसकन्ट्याक्ट, रेस्टलेस डेभलपमेन्ट र रोबोटिक्स एसोसिएसन अफ नेपालले कार्यान्वयन गर्नेछन्। उडान कार्यक्रमको कार्यान्वयन भने युथ इनोभेसन ल्याब, वुमेन इन एनिमेसन, हाइफर प्रोजेक्ट नेपाल र नेपाल एप्लाइड म्याथेम्याटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च (एनएएएमआईआई) ले गर्नेछन्।
राजदूत लोरेन्जोले “नेपालको सबैभन्दा ठूलो स्रोत भनेको युवा हो” भन्दै युवाले आफ्नो क्षमता साकार पार्नका लागि सीप, अवसर र रोजगारीमा थप लगानी आवश्यक रहेको बताइन्।
युवा एलुम्नी दिवस
ईयूले युवा एलुम्नी दिवस पनि आयोजना गर्यो, जसमा ईयू युथ एलुम्नी, युवा संगठन र साझेदारहरूले वृत्ताकार अर्थतन्त्र, हरित वृद्धि, शिक्षा, जलवायु कार्य र युवा सहभागितासहितका क्षेत्रमा युवा नेतृत्वका पहलहरू प्रस्तुत गरे।
यी कार्यक्रमहरूले नेपालका युवासँग शिक्षा र गतिशीलता, डिजिटल सीप र रोजगार, नवप्रवर्तन, उद्यमशीलता र नागरिक सहभागिताका माध्यमबाट ईयूको निरन्तर सहभागितालाई देखाएको छ।






