मुख्य सामग्रीमा जानुहोस्

मन्दोदरी: रावणकी पत्नी मात्र नभई विवेकको आवाज

पर्दामा रणवीर कपुर र राम र यश र रावणको चर्चा चुलिएको बेला रावणकी पत्नी मन्दोदरी प्रायः छायामा पर्छिन्। तर सीतालाई मार्ने धम्की दिँदा आफ्नै पतिको सामु उभिने र अन्तिममा सिंगो संसार गुमाउने उनको कथा रामायण बुझ्ने अर्को ढोका…

विश्वपत्र संवाददाता

· ५ मिनेटको पढाइ

२पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
मन्दोदरी: रावणकी पत्नी मात्र नभई विवेकको आवाज
Online Khabar

बहुचर्चित 'रामायण' फिल्मको हल्ला सुरु भएयता दर्शकको ध्यान राम र रावणतिर केन्द्रित छ। पर्दामा रामका रूपमा रणवीर कपुर र रावणका रूपमा यश देखिने भएपछि फिल्मप्रतिको उत्सुकता स्वाभाविक रूपमै बढेको छ। तर यही महाकाव्यभित्र रावणकी पत्नी मन्दोदरीको चरित्र भने प्रायः ओझेलमा पर्छ, जबकि उनको कथा रामायण बुझ्ने एउटा छुट्टै बाटो हो।

रावणको नाम उच्चारण गर्दा शक्ति, अहंकार र विनाश सम्झिन्छौं। मन्दोदरीको चरित्र त्यसको ठीक उल्टो छ — रूपमा सुन्दर, बोलीमा शालीन र निर्णयमा विवेकी। पति जब शक्तिकै भरमा आफ्नो निर्णय लाद्न खोज्थे, तब उनी बुझाउने प्रयास गर्थिन्। सीता लंकामा आइपुगेपछि त्यसको परिणाम उनले पहिल्यै देखिन्। र रावणले सीतालाई मार्ने धम्की दिएको बेला उनी आफ्नै पतिको सामुन्ने उभिन पुगिन्।

रामायणको कथा राम र रावणको द्वन्द्वमा मात्र सीमित छैन। यो त त्यस्ता पात्रहरूको संसार हो, जसमध्ये एक-एकलाई समातेर अघि बढ्दा अर्को छुट्टै कथा खुल्छ। लक्ष्मणको त्याग र उर्मिलाको चौध वर्षे प्रतीक्षा, हनुमानको भक्ति र शक्ति, जटायुको केही क्षणको उपस्थितिभित्रको साहस, विभीषणको आफ्नै दाजुविरुद्ध सत्यको पक्षमा उभिने निर्णय र मेघनादको बाबुको साम्राज्य र आफ्नै वीरताबीचको द्वन्द्व — यी सबै आ-आफ्नै कथाका हकदार छन्। मन्दोदरी पनि त्यस्तै एक पात्र हुन्, जसको जन्मकथा, सौन्दर्य, विवेक र रावणसँगको विवाहको कथा अलगै छ।

मय दानवकी छोरी

वाल्मीकि रामायणको उत्तरकाण्डमा मन्दोदरीलाई मय दानवकी छोरी भनिएको छ। दानवहरूका महान् वास्तुकार मानिने मयकी पत्नी हेमा अप्सरा थिइन्, र तिनै दुईकी सन्तानका रूपमा मन्दोदरीको जन्म भएको वर्णन छ। तर सबै कथामा जन्मको विवरण एउटै भेटिँदैन। कतिपय कथामा उनी पहिले मधुरा नामकी अप्सरा थिइन् र श्रापका कारण भ्यागुताको रूप धारण गर्नुपरेको, पछि श्रापबाट मुक्त भएर मय र हेमाको संरक्षणमा पुगेको उल्लेख पाइन्छ।

विवरण फरक भए पनि बारम्बार दोहोरिने कुरा एउटै छ — मन्दोदरी असाधारण रूप र गुण भएकी स्त्री थिइन्। अप्सराकी सन्तान भएकाले उनको अनुहारमा छुट्टै चमक, आँखा मनमोहक र शरीरयष्टि सुडौल थियो भनिन्छ। चालढालमा शालीनता र व्यवहारमा कोमलता थियो। तर रूपभन्दा ठूलो कुरा उनको विवेक थियो, जसले रावणजस्तो शक्तिशाली राजाका सामु पनि आफ्नो कुरा राख्ने आँट दियो।

रावणसँगको विवाह र लंकाको दरबार

त्यतिबेला रावण तपस्या गरेर वरदान प्राप्त गरिसकेका, अस्त्र र शक्ति जम्मा पारिसकेका र लंकामाथि आफ्नो अधिकार स्थापित गरिसकेका थिए। यही क्रममा उनको भेट मय दानवसँग भयो। मयले रावणको शक्ति र लंकाको वैभव नियाले, र छोरीका लागि उनलाई योग्य राजा ठाने। त्यसपछि मन्दोदरी रावणसँग विवाहबद्ध भइन् र लंकाकी महारानी बनिन्। यही विवाहसँग जोडिएर अर्को प्रसंग पनि आउँछ — मयले रावणलाई एउटा शक्तिशाली भाला दिएको, जुन पछि लक्ष्मणविरुद्ध प्रयोग भएको कथा पाइन्छ।

मन्दोदरीको जीवन त्यसपछि लंकाको राजदरबारसँग जोडियो। एकातिर शक्ति र वैभवले भरिएको साम्राज्य थियो, अर्कोतिर त्यही साम्राज्यका राजा रावण। तर रावणकी पत्नी हुनुको अर्थ उनका हरेक निर्णयमा सहमति जनाउनु थिएन। यो कुरा मेघनाद जन्मिएपछि अझ स्पष्ट भयो।

मेघनादको जन्म र आमाको संसार

मन्दोदरी र रावणका छोरा मेघनादको जन्मको कथा पनि कम रोचक छैन। वाल्मीकि रामायणअनुसार जन्मका बेला उनको रुवाइ बादल गर्जेजस्तै सुनिएको थियो, र त्यही कारण उनको नाम मेघनाद रह्यो भनिन्छ। पछि इन्द्रलाई पराजित गरेपछि उनी इन्द्रजितका नामले परिचित भए। रावणका लागि उनी शक्तिशाली योद्धा थिए, र लंकाले उनलाई आफ्नो भविष्यको शक्तिका रूपमा हेर्थ्यो। तर आमाका लागि भने उनी आफ्नै संसार थिए — यही कारण युद्धमा उनको मृत्युले मन्दोदरीलाई पुर्याएको चोटको गहिराइ बुझ्न सकिन्छ।

सीताको पक्षमा उभिएको अडान

रावणले सीताको हरण गरेर लंका ल्याएपछि कथा निर्णायक मोडमा पुग्छ। रावणका लागि त्यो आफ्नो शक्ति देखाउने घटना थियो, तर मन्दोदरीले त्यसमा शक्ति मात्र होइन, परिणाम पनि देखिन्। विभिन्न कथनमा उनले सीतालाई रामकहाँ फर्काउन र विनाशको बाटो नरोज्न रावणलाई सम्झाएको प्रसंग भेटिन्छ। बलवान हुनु र न्यायपूर्ण हुनु फरक कुरा भएको उनको बुझाइ थियो — यही उनको चरित्रको सबैभन्दा ठूलो विशेषता मानिन्छ। उनी रावणसँगै थिइन्, तर उनका हरेक कदमको समर्थनमा थिइनन्।

यसैसँग जोडिएको अर्को प्रसंगले उनको चरित्र अझ गहिरो बनाउँछ। सीतालाई आफ्नो इच्छाअनुसार झुकाउन नसकेपछि रावण यति क्रोधित हुन्छन् कि तरवार निकालेरै मार्ने धम्की दिन्छन्। त्यही बेला मन्दोदरी सामुन्ने आउँछिन् र महिलाको हत्या ठूलो पाप हुने भन्दै उनलाई रोक्छिन्। सीतालाई पत्नी बनाउने सोच त्यागेर अरू पत्नीहरूसँग समय बिताउनसमेत उनले सुझाएको कथा पाइन्छ। केही कथनमा उनले सीताको पतिव्रता र रामप्रतिको निष्ठाको प्रशंसासमेत गरेको उल्लेख छ।

यहाँ मन्दोदरी केवल 'रावणकी पत्नी' रहँदिनन्; अर्की महिलाको जीवन जोगाउन आफ्नै पतिको विपक्षमा उभिने महिला बन्छिन्। रावणप्रति उनको प्रेम थियो, तर प्रेमको अर्थ गलत कुरामा आँखा चिम्लिनु होइन भन्ने उनले बुझेकी थिइन्।

लंका दहनदेखि अन्तिम युद्धसम्म

सीतालाई खोज्दै हनुमान लंका पुगे, सीतालाई भेटे, दरबार र वैभव देखे, र त्यसपछि लंकामा आगो लाग्यो। आफ्नो वैभवलाई शक्तिको प्रमाण ठान्ने रावणका लागि यो ठूलो चुनौती थियो, तर मन्दोदरीका लागि यो अझ ठूलो चेतावनी थियो। युद्ध सुरु भइसकेको थिएन, तर विनाशका संकेत देखिन थालिसकेका थिए। अब मामिला राम र सीताको मात्र थिएन; रावणको एउटा निर्णयले पूरै लंकालाई जोखिममा पारिरहेको थियो। मन्दोदरीले यो बुझेकी थिइन्, तर रावण आफ्नो अडानबाट पछि हटेनन्।

युद्ध छेडिएपछि लंकाका बलिया योद्धा क्रमशः रणभूमिमा ढल्न थाले; कुम्भकर्णको पनि मृत्यु भयो। अन्ततः मेघनाद रणभूमिबाट फर्किएनन्। लंकाका लागि त्यो एउटा वीर सैनिकको क्षति थियो भने एउटी आमाका लागि संसारकै ठूलो खालीपन। तर युद्ध त्यहीँ रोकिएन; रावण अझै अन्तिम लडाइँको तयारीमा थिए।

अन्तिम युद्धमा रावणसँग शक्ति, अस्त्र र अनुभव थियो, तर वरिपरि उभिने धेरै शक्तिशाली योद्धा बाँकी थिएनन्। भाइ गुमिसकेका थिए, छोरा गुमिसकेका थिए, सेनाका प्रमुख योद्धा ढलिसकेका थिए; अहंकार भने बाँकी नै थियो। अन्ततः रामसँगको द्वन्द्वमा रावणको मृत्यु भयो। रामका लागि त्यो विजय थियो, तर त्यही क्षणमा मन्दोदरीले आफ्नै आँखाअघि साम्राज्य भत्किएको देखिन् र पति गुमाइन्; छोरा पहिल्यै गुमाइसकेकी थिइन्। रावणको अन्तिम अवस्था देखेर उनले गरेको विलाप रामायणका मार्मिक प्रसंगमध्ये एक मानिन्छ।

युद्धमा हार्ने रावण मात्र थिएनन्। युद्ध नरोजेका मानिसले पनि त्यसको सबैभन्दा ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ — मन्दोदरी त्यस्तै पात्र हुन्। उनले रावणलाई रोक्न खोजिन्, सीतालाई जोगाउन खोजिन्, विनाश आउँदै गरेको देखिन्, तर अन्ततः आफूले जोगाउन खोजेको संसार नै गुमाइन्।

रामायणमा रामको विजय र सीताको महिमा जति ठूलो छ, त्यति नै ठूलो मन्दोदरीको कथा पनि छ — शक्तिशाली पुरुषको छायामा रहेर पनि आफ्नो विवेक नगुमाउने महिलाको कथा। इतिहासमा सामान्यतः विजेताकै कथा बढी स्मरण गरिन्छ, तर युद्ध सकिएपछि भत्केका घरहरूभित्र बाँकी रहेकाहरूको इतिहास पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। मन्दोदरी त्यही कथाकी पात्र हुन्।