२९ साउन, काठमाडौं । प्रहरीले भक्तपुर, तनहुँ र चितवनमा छुट्टाछुट्टै गरेको कारबाहीमा कूल तीन जनालाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको छ। तनहुँबाट भने लागुऔषध बरामद भएको छ तर त्यहाँ फरार रहेका एक व्यक्तिको खोजी जारी छ।
भक्तपुरमा ट्रमाडोलसहित एक जना पक्राउ
भक्तपुरको दुवाकोट क्षेत्रबाट काठमाडौंको अनामनगर बस्ने ३२ वर्षीय अजय डंगोललाई ८१२ चक्की ट्रमाडोलसहित प्रहरीले नियन्त्रणमा लिएको छ। उनमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
तनहुँमा पसलबाट लागुऔषध बरामद
तनहुँको आबुखैरेनी गाउँपालिका-३ प्रगति टोलमा रहेको स्थानीय साजन श्रेष्ठको मासु पसलबाट हिजो साँझ प्रहरीले लागुऔषध बरामद गरेको छ। सो पसलबाट ट्रमाडोल र प्रोमोथाइजिनसहित केही नगदसमेत बरामद भएको इलाका प्रहरी कार्यालय आबुखैरेनीले जनाएको छ। श्रेष्ठ भने फरार रहेकाले उनको खोजी भइरहेको छ।
चितवनबाट हिरोइन र नगदसहित दुई जना पक्राउ
यसैगरी चितवनको फुलचोकबाट हिजो साँझ लागुपदार्थ र नगदसहित दुई जना पक्राउ परेका छन्। रत्ननगर नगरपालिका-३ बस्ने २५ वर्षीय आशिष पुरी र रत्ननगर नगरपालिका-७ बाघमारा बस्ने ३८ वर्षीय दिनेश सुनार मोटरसाइकलमा सवार थिए।
ना १५ प ८४८३ नम्बरको सो मोटरसाइकलमा सवार उनीहरूको साथबाट साढे ६ बजे २ ग्राम ७३० मिलीग्राम खैरो हिरोइन र २७ हजार रुपैयाँ नगद बरामद गरेको प्रहरीले जनाएको छ।






