मुख्य सामग्रीमा जानुहोस्

चिनीको भाउ प्रतिकिलो १ सय २० रुपैयाँ, उद्योगी र व्यापारीबीच आरोप–प्रत्यारोप

बजारमा चिनीको मूल्य प्रतिकिलो १ सय २० रुपैयाँ पुगेको छ । आपूर्ति नियमित नहुने गुनासोबीच उद्योगी र व्यापारीले एकअर्कामाथि कृत्रिम अभाव सिर्जना गरेको आरोप लगाएका छन् ।

विश्वपत्र संवाददाता

· ४ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar

३१ साउन, काठमाडौं । छिमेकी मुलुक भारतले गत वैशाख अन्तिम साता चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा फैलिएको अभावको आशंका अहिले मूल्यवृद्धिमा परिणत भएको छ । नेपाल चिनी उद्योग संघले १ जेठमा पर्याप्त मौज्दात रहेकाले चिनीको मूल्य नबढ्ने बताए पनि तीन महिनामै बजारमा चिनीको आपूर्ति प्रभावित भएको गुनासो बढेको छ । खुद्रा बजारमा चिनीको मूल्य प्रतिकिलो ९५ रुपैयाँबाट बढेर १ सय २० रुपैयाँसम्म पुगेको छ ।

काठमाडौं शंखमुलकी गृहिणी चन्द्रकला भण्डारीले पसलेसँग मूल्यवृद्धिको कारण सोध्दा होलसेलबाटै चिनीको आपूर्ति कम भएको र भाउ बढेर आएको जवाफ पाएको बताइन् । चाडपर्वको लस्कर सुरु हुन लागेकाले उद्योगी र व्यापारीले कालोबजारी तथा महँगीको खेल थालेको उनको गुनासो छ ।

व्यापारीको आरोप : कृत्रिम अभाव र मूल्यवृद्धि

बुद्धनगरका खुद्रा व्यापारी देव श्रेष्ठका अनुसार पछिल्लो १५ दिनमा दुई बोरा मात्रै चिनी आएको छ । होलसेलमा चिनी माग्दा नभएको जवाफ आउने र एक–दुई बोरा पाउँदा पनि प्रतिकिलो १ सय ८ देखि १ सय १० रुपैयाँसम्म तिर्नुपरेको उनले बताए । ढुवानी र भरिया खर्च जोड्दा चिनी पसलमा आइपुग्दा नै १ सय १२ रुपैयाँ पर्ने र नाफा राख्दा मूल्य १ सय २० रुपैयाँ पुगेको उनको भनाइ छ ।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बज्राचार्यले भने बजारमा चिनीको अभाव नभएको तर ठूला व्यापारी र उद्योगीले मिलेर नियोजित रूपमा मूल्य बढाएको दाबी गरे । भारतको निर्यात प्रतिबन्धको हल्लाको फाइदा उठाउँदै माथिबाटै प्रतिकिलो १० रुपैयाँसम्म मूल्य बढाएर पठाउन थालिएको र चाडपर्वमा महँगो मूल्यमा चिनी बेच्ने तयारी भइरहेको उनको आरोप छ ।

थोक व्यापारीहरू भने चिनी उद्योगीतिर आरोप सोझ्याउँछन् । बालाजु माछापोखरीमा चिनीको थोक व्यापार गर्दै आएका एक व्यापारीका अनुसार तीन–चार वटा ठूला चिनी मिलले बजारलाई नियन्त्रणमा लिएर कृत्रिम अभाव सिर्जना गरेका छन् । उद्योगीले आफू नजिकका व्यक्तिलाई मात्र चिनी दिने र भुक्तानी लिँदा प्रतिकिलो १ सय ३ देखि १ सय ५ रुपैयाँसम्म लिने तर बिल भने १ सय २ रुपैयाँको मात्र काट्ने गरेको उनको आरोप छ ।

आस्मा एन्ड कम्पनी प्रालिका सञ्चालक तथा होलसेल व्यापारी सञ्जयकुमार फुयाँलले पनि चिनी नपाएर लामो समय विरोधमा उत्रिनुपरेको बताए । पहिले काठमाडौंमा चिनीको फ्याक्ट्री मूल्य ९२ देखि ९६ रुपैयाँ रहेकामा १० दिनमै ६ रुपैयाँ बढाइएको उनको गुनासो छ । उनले साल्ट ट्रेडिङ कर्पोरेसनले नयाँ चिनी नकिनीकन गोदाममा भएकै चिनीको मूल्य दैनिक एक–एक रुपैयाँ बढाएर १ सय ५ रुपैयाँ पुर्‍याएको आरोप लगाए । सरकारी निकाय नै यसरी मूल्य बढाउन थालेपछि निजी उद्योगीले झन् महँगो मूल्य लिने उनको तर्क छ ।

उद्योगी भन्छन् : स्टक बेचिरहेका छौं

चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले भने बजारमा चिनीको अभाव नरहेको बरु व्यापारीले नै लुकाएको हुन सक्ने दाबी गरेका छन् । उद्योगीले चिनी नदिएको र बिलविना महँगोमा बेचेको होलसेलरको आरोप उनले अस्वीकार गरे । हाल उद्योगसँग कति चिनी मौज्दात छ भन्ने यकिन तथ्यांक संघसँग नभएको र सबै उद्योगबाट तथ्यांक आएपछि मात्रै सार्वजनिक गरिने उनले बताए ।

एभरेस्ट सुगर मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले आफूहरूले चिनी नलुकाएको र उपलब्ध मौज्दात बजारमा पठाइरहेको बताए । तर उनका अनुसार मिलसँग अब करिब १५ हजार क्विन्टल मात्रै चिनी बाँकी छ । त्यो पनि बिक्री भएपछि उद्योगको स्टक सकिने र नयाँ सिजनमा मात्रै थप मौज्दात हुने उनको भनाइ छ । यसअघि भारतले निर्यात प्रतिबन्ध गर्दा उद्योगीहरूले दसैंतिहारसम्म चिनी अभाव नहुने बताएका थिए । अहिले भने ठाकुरले १५ हजार क्विन्टल बिक्री भएपछि स्टक निल हुने बताएका छन् ।

तथ्यांकबीच विरोधाभास, अनुगमनको माग

नेपाल चिनी उद्योग संघले १ जेठमा जारी गरेको विज्ञप्तिमा भने बजार र उद्योगमा गरी करिब २ लाख टन चिनी उपलब्ध रहेको जनाइएको थियो । सो तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा १३ वटा चिनी उद्योगले करिब १ लाख ९० हजार ८ सय ७० टन चिनी उत्पादन गरेका थिए । २८ वैशाखसम्म उद्योगमा मात्रै १ लाख ८ हजार टन (१० लाख ८० हजार क्विन्टल) मौज्दात रहेको संघले बताएको थियो ।

संघका अनुसार व्यवसायीमा करिब २० हजार टन र आयात भएको ६० देखि ७० हजार टन चिनीसमेत गरी बजारमा पर्याप्त मौज्दात थियो । सोही विज्ञप्तिमा तत्काल कारखानाबाट मूल्य नबढ्ने र अनावश्यक भण्डारण नगर्न पनि भनिएको थियो । तर अहिले उद्योगीहरूले साउन–भदौ लाग्दै गर्दा स्टक सकिन लागेको बताउन थालेकाले पुरानो तथ्यांक र हालको दाबीबीच विरोधाभास देखिएको छ । व्यवसायीहरू यति छोटो अवधिमा त्यति धेरै चिनी खपत हुन नसक्ने बताउँछन् ।

यस्तो अवस्थामा सरकारले बजार अनुगमन गरी भण्डारण र कृत्रिम अभाव भएको भेटिए कारबाही गर्नुपर्ने उपभोक्तावादीहरूको माग छ । अर्कातिर, भारतले नेपाललाई उपलब्ध गराउने भनेको २५ हजार टन आयात कोटाबाट हालसम्म १ हजार टन चिनी मात्रै भित्रिएको छ । भारत सरकारले १८ सेप्टेम्बर २०२५ मा नेपाललाई २५ हजार टन चिनी दिने निर्णय गरेको थियो । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाँकी २४ हजार टन भित्र्‍याउन ३० सेप्टेम्बर २०२६ सम्मको म्याद पाए पनि चाडपर्वअघि सबै चिनी आइपुग्ने अवस्था नदेखिएको सरोकारवालाहरू बताउँछन् ।