मुख्य सामग्रीमा जानुहोस्

च्यालेन्ज लिग बी विजेता बन्दै इटाली, विश्वकप छनोट प्लेअफमा स्थान पक्का

फुटबलको पर्याय मानिने इटालीले क्रिकेटमा लगातार प्रगति गर्दै एसोसिएट क्रिकेटको चर्चामा आफूलाई स्थापित गरिरहेको छ । च्यालेन्ज लिग बी को उपाधिसँगै उसले २०२७ को एकदिवसीय विश्वकप छनोटको प्लेअफमा स्थान पक्का गरेको छ ।

विश्वपत्र संवाददाता

· ४ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
च्यालेन्ज लिग बी विजेता बन्दै इटाली, विश्वकप छनोट प्लेअफमा स्थान पक्का
Online Khabar

फुटबलको पर्यायका रूपमा चिनिने इटालीले क्रिकेटमा समेत आफ्नो छुट्टै पहिचान बनाउँदै गएको छ । एसोसिएट क्रिकेटमा एक समय नेपालको नामले जति चर्चा पाउँथ्यो, अहिले त्यो चर्चा इटालीले बटुल्न थालेको छ । आईसीसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ‘बी’ को विजेता बनेसँगै इटालीले सन् २०२७ को एकदिवसीय विश्वकप छनोटको क्वालिफायर प्लेअफमा स्थान सुरक्षित गरेको छ ।

च्यालेन्ज लिग बी मा इटालीले १५ खेलमा १२ जित दर्ता गर्दै उपाधि आफ्नो नाममा लेखायो । उसले यस क्रममा ओडीआई मान्यताका लागि लामो समयदेखि संघर्ष गरिरहेको हङकङ र एसोसिएट क्रिकेटमा आक्रामक रूपमा अगाडि बढिरहेको युगान्डाजस्ता टोलीलाई पनि पछि पार्‍यो । युगान्डाले पनि उक्त लिगबाट क्वालिफायर प्लेअफमा स्थान बनाएको छ ।

इटालीमा क्रिकेटको इतिहास

इटालीको क्रिकेट यात्राको जरा भने निकै पुरानो छ । आईसीसीको अभिलेखअनुसार सन् १७९३ मा नेपल्समा बेलायती एडमिरल होरेसियो नेल्सनले क्रिकेट खेल आयोजना गरेको उल्लेख छ । त्यसयता १९औं शताब्दीको अन्त्यतिर जेनोआ, मिलान र टुरिनमा क्रिकेट क्लबहरू स्थापना भए । फासीवादी शासनका क्रममा यो खेल लगभग लोपजस्तै भयो र दोस्रो विश्वयुद्धपछि मात्रै पुनः गति लियो ।

सन् १९८० मा एसोसिएजियोने इटालियाना क्रिकेटको गठनसँगै आधुनिक इटालियन क्रिकेटको औपचारिक आधार तयार भयो । सन् १९८४ मा इटाली आईसीसीको एफिलिएट सदस्य बन्‍यो भने सन् १९९५ मा एसोसिएट सदस्यता प्राप्त गर्‍यो । विगत केही वर्षयता भने इटाली क्रिकेटले संरचनागतरूपमा समेत उल्लेखनीय प्रगति गरेको छ ।

सन् २०२४ मा इटालियन क्रिकेट फेडरेसनलाई राष्ट्रिय खेल महासंघको मान्यता प्रदान गरियो । इटालियन ओलम्पिक कमिटीले उक्त वर्ष फेडरेसनलाई राष्ट्रिय खेल महासंघका रूपमा स्वीकार गरेको हो । हाल इटालीमा एक सयभन्दा बढी क्लब घरेलु क्रिकेटमा सक्रिय छन् । विद्यालय तहमा क्रिकेट कार्यक्रम विस्तार गर्ने, शारीरिक शिक्षा शिक्षकलाई प्रशिक्षकका रूपमा तयार पार्ने जस्ता कामलाई प्राथमिकतामा राखिएको छ ।

टी–२० विश्वकपसम्मको यात्रा

सन् २०२६ को टी–२० विश्वकपमा सहभागी हुनु इटालीका लागि लामो प्रक्रियापछि सम्भव भएको हो । सन् २०२४ मा घरेलु मैदानमा भएको युरोप सब–रिजनल छनोटमा इटाली अपराजित रहँदै फाइनलमा रोमानियालाई १६० रनले पराजित गरेको थियो । त्यस खेलमा जो बर्न्सले ५५ बलमा अविजित १०८ रन बनाउँदै इटालीलाई २० ओभरमा २४४ रनको विशाल योगफल दिलाएका थिए ।

तर, त्यसपछिको युरोपियन छनोटको अन्तिम चरणमा इटाली स्कटल्यान्ड र आयरल्यान्डसँग पराजित भयो र तेस्रो स्थानमा रहेर विश्वकपमा छनोट हुन सकेन । सन् २०२५ को युरोप क्षेत्रीय छनोटमा भने इटालीले दबाबपूर्ण अवस्थामा दोस्रो स्थान हासिल गर्दै पहिलोपटक टी–२० विश्वकपको टिकट काट्‍यो । अन्तिम खेलमा नेदरल्यान्ड्ससँग नौ विकेटले पराजित भए पनि राम्रो नेट रनरेटका आधारमा इटालीले जर्सीलाई उछिनेको थियो । सोही छनोटमा इटालीले बलियो टोली मानिने स्कटल्यान्डलाई पराजित गरेको थियो । पछि बंगलादेशको सहभागिता नरहँदा स्कटल्यान्डले वाइल्डकार्ड प्रवेश पाएको थियो ।

विश्वकपमा इटाली इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र नेपालसँगै समूहमा थियो । मुम्बईको वानखेडे स्टेडियममा नेपालले दिएको १२४ रनको लक्ष्य इटालीले कुनै विकेट नगुमाई १२.४ ओभरमै पूरा गर्‍यो । जस्टिन मोस्काले ६० र एन्थोनी मोस्काले ६२ रन बनाउँदै अविजित साझेदारी गरे । बलिङमा बेन्जामिन मानेन्तीले चार ओभरमा नौ रन खर्चेर दुई विकेट लिए भने क्रिशान कालुगामागेले तीन विकेट हात पारे ।

अबको लक्ष्य ओडीआई र विश्वकप छनोट

टी–२० विश्वकपपछि इटालीले ५० ओभरको क्रिकेटमा पनि फड्को मारेको छ । च्यालेन्ज लिग बी मा यो पटकको उपाधि इटालीको प्रगतिको प्रमाण हो । सन् २०१९–२२ को च्यालेन्ज लिगमा इटाली नवौं स्थानमा रहेको थियो र आफ्नो स्थान जोगाउन प्लेअफसम्म खेल्नुपरेको थियो । तर, २०२४–२६ चक्रमा टोली शीर्ष दुईमा रहँदै च्याम्पियन बनेर अर्को चरणमा पुगेको छ ।

क्वालिफायर प्लेअफमा च्यालेन्ज लिग ए र बी का शीर्ष दुई–दुई टोलीसँगै विश्वकप लिग–२ का तल्लो चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । त्यहाँबाट शीर्ष चार टोली विश्वकप क्वालिफायरमा पुग्नेछन् । इटालीले सो प्लेअफमा राम्रो नतिजा निकाले कम्तीमा चार वर्षका लागि ओडीआई मान्यता पाउन सक्नेछ र नेपालले खेलिरहेको क्रिकेट विश्वकप लिग २ मा प्रतिस्पर्धा गर्ने अवसर समेत हात पार्न सक्नेछ ।

यस्तो अवस्थामा इटालीले विश्वकप क्वालिफायरसम्मको यात्रा तय गर्न सक्छ । फुटबल विश्वकप जितिसकेको यो देशका लागि क्रिकेट विश्वकपमा पुग्नु आफैंमा ठूलो कथा बन्नेछ । इटाली क्रिकेटले यो उपलब्धिलाई नयाँ सुरुवातको रूपमा भनेको छ र आगामी चुनौतीका लागि गम्भीरता, एकता तथा दृढताका साथ काम गर्ने बताएको छ ।

विभिन्न देशका खेलाडी एकै टोलीमा

इटालीको राष्ट्रिय टोलीको संरचना पनि आफैंमा रोचक छ । सन् २०२६ को विश्वकप टोलीमा इटालीमा जन्मिएका खेलाडी एक जना पनि थिएनन् । टोलीमा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्यान्ड, भारत, श्रीलंका र पाकिस्तानजस्ता पृष्ठभूमिका खेलाडी सहभागी थिए । अस्ट्रेलियामा हुर्किएका बेन र ह्यारी मानेन्ती दाजुभाइ यस टोलीका मुख्य पात्र हुन् । इटालियन मूलका बाबुको नागरिकताका आधारमा दुवैले इटालीबाट खेल्ने अवसर पाएका हुन् ।

बेन मानेन्तीले दक्षिण अस्ट्रेलिया र सिड्नी सिक्सर्सजस्ता टोलीबाट अस्ट्रेलियाको घरेलु क्रिकेट खेलेका छन् भने ह्यारीले दक्षिण अस्ट्रेलियाको संरचनामा रहँदै एडिलेड स्ट्राइकर्सबाट बिग ब्यास लिग खेलेका छन् । बेनले इटालीको टोलीलाई विश्वभरका खेलाडीको सांस्कृतिक मिश्रणका रूपमा व्याख्या गरेका छन् । यो विविधतालाई इटालीले आफ्नो शक्तिका रूपमा उपयोग गरिरहेको छ ।

क्रिकेट आगामी दिनमा ओलम्पिकको पनि हिस्सा बन्ने भएकाले इटालीका लागि थप अवसर थपिएको छ । सन् २०२८ को लस एन्जलस ओलम्पिकमा क्रिकेट टी–२० प्रारूपमा समावेश हुँदैछ । यसले इटाली क्रिकेटको विकासमा थप योगदान पुर्‍याउने देखिन्छ ।

एक समय नेपालले एसोसिएट क्रिकेटमा तल्लो तहबाट माथि उक्लिएर विश्वकप खेलेको थियो । अहिले इटाली पनि सोही बाटोमा छ । नेपालले आफ्नो परम्परागत खेलका रूपमा क्रिकेटलाई अघि बढाएको हो भने इटालीले नयाँ पुस्ता, आप्रवासी समुदाय र इटालियन मूल भएका विदेशी खेलाडीको संयोजनबाट क्रिकेटलाई उकासिरहेको छ । अबको प्लेअफमार्फत इटालीले ओडीआई मान्यता र विश्वकप छनोटको सपना साकार पार्न सक्नेछ ।