भदौ ४, काठमाडौं। इलाका प्रहरी कार्यालय सिमरा, बाराका इन्चार्ज तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ। उनको जिम्मेवारी खोसेर सोही कार्यालयमा डीएसपी दयाकृष्ण भट्टलाई खटाइएको हो। भट्ट यसअघि प्रहरी प्रधान कार्यालयमै कार्यरत अधिकृत हुन्।
प्रहरी प्रधान कार्यालयले क्षेत्रीसँगै इन्सपेक्टर प्रकाश थापालाई पनि जिम्मेवारीबाट हटाएको छ। तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले जितपुर–सिमरा उपमहानगरपालिकामा व्यापक आक्रोश छ। उपमहानगरका स्थानीयवासीले प्रहरीले समयमै ध्यान नदिँदा बालिकाको हत्या भएको भन्दै बुधबारदेखि आन्दोलन गर्दै आएका छन्।
स्थानीयवासीको आरोपमा गरिमाका बुबाले छोरी हराएको जानकारी समयमै इलाका प्रहरी कार्यालय सिमरामा जाहेरी दिए पनि खोजीमा प्रहरीले गम्भीरता देखाएको छैन। गरिमाको खोजीकार्य नै लापरबाहीपूर्ण रहेको उनीहरूको भनाइ छ। आन्दोलनको क्रममा स्थानीयले डीएसपी क्षेत्रीलाई कारबाही गर्न माग गर्दै बिहीबार सिमराका सडकमा आवतजावत ठप्प पारेका थिए। साथै उपमहानगरपालिकाभित्र सञ्चालित निजी तथा सामुदायिक विद्यालयहरू पनि बन्द गरिएको थियो।
स्थानीयको आक्रोश र प्रदर्शनपछि प्रहरी प्रधान कार्यालयले डीएसपी क्षेत्रीलाई केन्द्रमा बोलाएको हो। बिहीबार काठमाडौंमा पनि गरिमाको हत्याको विरोधमा प्रदर्शन भएको थियो।







