मुख्य सामग्रीमा जानुहोस्

प्रधानमन्त्री बालेन अस्तामको अन्नपूर्ण इको भिलेजमा, भोलि मुस्ताङ जाने

प्रधानमन्त्री बालेन शाह प्रधानमन्त्री भएपछि पहिलोपटक निजी भ्रमणमा कास्कीको अस्ताम पुगेका छन् । उनी अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बसेका छन् र भोलि मुस्ताङ जाने कार्यक्रम रहेको बताइएको छ ।

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
प्रधानमन्त्री बालेन अस्तामको अन्नपूर्ण इको भिलेजमा, भोलि मुस्ताङ जाने
Online Khabar

प्रधानमन्त्री बनेपछि पहिलोपटक निजी भ्रमणमा निस्किएका प्रधानमन्त्री बालेन शाह कास्कीको अस्तामस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बसेका छन्। पोखराबाट करिब १८ किलोमिटर उत्तर–पश्चिममा रहेको अस्ताम गाउँमा उनी शुक्रबार पुगेका हुन्। प्रधानमन्त्री कार्यालयले यो विशुद्ध व्यक्तिगत भ्रमण भएको जानकारी दिएको छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार उनी भोलि मुस्ताङ जानेछन्, तर भ्रमणको अन्य कार्यतालिका भने खुलाइएको छैन।

प्रायः आफ्ना व्यक्तिगत गतिविधिलाई गोप्य राख्ने प्रधानमन्त्री शाहको यसपटकको चाहना भने पूरा हुन सकेको छैन। विशिष्ट व्यक्तिको भ्रमण र सुरक्षा प्रोटोकलकै कारण उनको उपस्थिति सार्वजनिक भएको हो। भ्रमणबारे सुरक्षा निकायसमेत अनविज्ञ रहेको बताइएको छ। पारिवारिक तथा व्यक्तिगत भ्रमण भनिए पनि शाहले यस क्रममा कसैलाई भेटेका छैनन्।

समुद्री सतहबाट करिब १५ सय मिटरको उचाइमा रहेको यही रिसोर्टमा ठ्याक्कै एक वर्षअघि भदौ ५ गते पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि बास बसेका थिए। कांग्रेस–एमालेको सहमतिमा सरकार सञ्चालन भएपछि पार्टी निर्माणको काममा देशभर हिँडिरहेका बेला प्रचण्ड आफ्नो जन्मजिल्ला कास्की पुगेका थिए। त्यस क्रममा उनले अस्तामका गाउँहरू डुल्नुका साथै जनयुद्धका घाइते नेत्र अधिकारीलाई समेत भेटेका थिए। यसपटक भने बालेनको भ्रमण पूर्ण रूपमा व्यक्तिगत र पारिवारिक रहेको बताइएको छ।

६० को दशकसम्म अस्ताममा पर्यटक पुग्ने दृश्य निकै दुर्लभ थियो। बाटो, बिजुली र खानेपानीकै अभावमा खर र ढुंगाले छाएका घरमा गाउँले बस्दै आएका थिए। विदेशी पर्यटक देख्दा स्थानीय दंग पर्थे भने स्थानीयलाई हेरेर पर्यटक नै छक्क पर्ने गर्थे। उत्तरतिर अग्ला हिमाल, दक्षिणतिर छंगासुर भिर र तल कलकल बग्ने मर्दी खोलासहित माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि र मनास्लुका दृश्यले पर्यटकलाई लोभ्याउँथ्यो। कतिपय पर्यटक त दुई–तीन दिनसम्म टेन्ट तानेर हिमाल नियालेरै बस्थे। त्यो बेला सम्झँदै माछापुच्छ्रे गाउँपालिका–६ का वडाध्यक्ष टेकनाथ बराल आफ्नै छातीमा वैभव बोकेर पनि अस्तामवासी अभावकै जीवनमा रुमल्लिएको बताउँछन्।

तीन पुस्ताको श्रममा बनेको अन्नपूर्ण इको भिलेज

अन्नपूर्ण इको भिलेज रातारात बनेको भने होइन। अधिकारी परिवारको तीन पुस्ताको संघर्षले यसलाई आकार दिएको हो। २०६१/२०६२ सालतिर शिवराज अधिकारीले बारीमा मल बोक्न नपरोस् भनेर नजिकैको गाउँबाट अस्तामकै डाँडामा गोठ सारे। पछि उनले ट्रेकिङ जाने पर्यटकलाई यहीं रोक्न सकिने सोच बनाए र खान–बस्नको व्यवस्थासहित दुई कोठा तयार पारे। पेसाले शिक्षक रहेका शिवराजको योजना पाहुनालाई बास दिने र आफ्नै बारीमा फलेको खुवाउने थियो। सोही दुई कोठाबाट सुरु भएको आतिथ्यता अहिले हजारौं मानिसको रोजाइ बनेको छ।

विश्वराज अधिकारी २०४६/०४७ सालतिर गाइडका रूपमा पर्यटन क्षेत्रमा प्रवेश गरेका थिए। त्यतिबेला हरिचोकदेखि तिब्बतीयन क्याम्प, मेलबोट, अस्ताम, धम्पुस हुँदै अस्ट्रेलियन क्याम्पसम्मको ६–७ दिने ‘पोखरा फेरो’ पदयात्रा मार्ग निकै चल्तीमा थियो। त्यही क्रममा उनी विदेशी पर्यटक लिएर अस्ताम आउने र घरमै राख्ने गर्थे। पोखरा–बागलुङ राजमार्ग बनेपछि भने यी परम्परागत पदमार्ग सुस्ताउँदै गए। अधिकारी परिवारले सहरमा ट्रेकिङ सप, ट्राभल एजेन्सी, गेस्ट हाउस र होटलसमेत चलाए, तर सफलता मिलेन। आफ्नै माटोमा फर्किएपछि भने उनीहरूले सफलताको स्वाद चाख्न थाले।

इको भिलेजको अवधारणा युरोप र भारतका इको भिलेज तथा काठमाडौं इन्भायरोन्मेन्टल प्रोजेक्टको वातावरणमैत्री कार्यबाट प्रभावित भएर ल्याइएको हो। ‘गर्दै सिक्दै’ नीति अपनाउँदै गाउँकै ढुंगा, माटो र काठ प्रयोग गरेर परम्परागत शैलीमा संरचना बनाइयो। आफ्नै फार्मको दूध, दही, घिउ र चिज पाहुनालाई खुवाउने व्यवस्था गरियो। क्यामोमाइल, लेमनग्रास र स्टेभियाजस्ता स्थानीय जडीबुटी मिसाएर बनाइने ‘इको टी’ पनि लोकप्रिय छ। कोरोना महामारीपछि दाजुभाइ पूर्ण रूपमा गाउँमै फर्किएर भान्सा र व्यवस्थापनमा जुटेका छन्। मुख्य सञ्चालक विश्वराज अधिकारीले समग्र व्यवस्थापन र बजारीकरण हेर्छन् भने सिंगापुरबाट होटल म्यानेजमेन्ट पढेर फर्केका कान्छा भाइले आतिथ्य र सेवाको गुणस्तर सम्हालेका छन्। ट्रेकिङ गाइड तथा योग–वेलनेस गुरु रहेका माइलो भाइ बेदनिधि अधिकारी पनि यतै सक्रिय छन्। विश्वराजकै छोराले समेत योग तथा ध्यानका कक्षा सञ्चालन गर्छन्।

अहिले रिसोर्टमा स्तरीय २३ कोठा छन् भने १५ रोपनी जग्गामा योग–ध्यान, चराचुरुंगी र बालबालिकाका लागि खुला चौर तथा कृषि उत्पादनका लागि स्थान छुट्याइएको छ। यहाँ २५० घण्टाको अन्तर्राष्ट्रियस्तरको ‘योगा टिचर्स ट्रेनिङ’ सञ्चालन हुन्छ, जसलाई ३०० घण्टासम्म विस्तार गर्ने योजना छ।

स्थानीय तथा प्राकृतिक पर्यटन सरकारी नीतिको प्राथमिकतामा नपरेको गुनासो विश्वराज अधिकारीको छ। पाँचतारे होटल र कंक्रिटका संरचनालाई मात्र पर्यटन मान्ने सोचले इको–टुरिजम ओझेलमा परेको उनको भनाइ छ। जैविक मल प्रयोग, पशुपालन र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै पर्यटकलाई त्यही वातावरणमा रमाउन दिनु नै वास्तविक इको टुरिजम भएको उनी बताउँछन्।

अन्नपूर्ण इको भिलेज मात्र होइन, सिंगो अस्तामको मुहार नै पर्यटनले बदलेको छ। अहिले अस्तामका लगभग सबै घरमा पाहुना राख्ने व्यवस्था छ। नयाँ–नयाँ होटल खुल्दै छन्, ह्याङ्जाकोट होमस्टे सञ्चालनमा छ भने तारे होटल निर्माणको क्रममा छन्। पक्की सडक र बिजुली पुगिसकेको अस्ताममा दैनिक सयौं पर्यटक पुग्ने गरेका छन्। शीर्ष नेतृत्वको भ्रमणले यस क्षेत्रको आकर्षण अझै बढाएको छ।