मुख्य सामग्रीमा जानुहोस्

स्याङ्जामै पहिलो करदाता सेवा अर्जुनचौपारी गाउँपालिकाबाट सुरु

स्याङ्जा जिल्लामै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकाले करदाता सेवा सुरु गरेको छ। स्थानीय नागरिक र व्यवसायीले अब प्यान र भ्याटसम्बन्धी सेवा गाउँपालिकामै पाउने भएका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
स्याङ्जामै पहिलो करदाता सेवा अर्जुनचौपारी गाउँपालिकाबाट सुरु
Online Khabar

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाबाट जिल्लामै पहिलोपटक औपचारिक करदाता सेवा सञ्चालनमा आएको छ। पालिकामै यो सेवा थपिएसँगै स्थानीय नागरिक र व्यवसायीलाई प्यान तथा भ्याटसम्बन्धी कामका लागि अन्यत्र धाउनुपर्ने बाध्यता कम हुने भएको छ।

सेवा सञ्चालनका लागि आन्तरिक राजस्व कार्यालय पोखराका कर अधिकृत शिवप्रसाद ढुङ्गाना र अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालबीच सम्झौता भएको छ।

सरकारले करदाता सेवा कार्यालयको संरचना हटाएपछि स्याङ्जाका ११ स्थानीय तहमध्ये अर्जुनचौपारी गाउँपालिकाले आन्तरिक राजस्व कार्यालय पोखरासँग सहकार्य गर्दै यो सेवा सुरु गरेको हो। यसअघि करदाता सेवा कार्यालय स्याङ्जाबाट उपलब्ध हुँदै आएका केही सेवा अब पालिकाबाटै प्राप्त गर्न सकिनेछ।

गाउँपालिकाबाट व्यक्तिगत र व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) जारी, संशोधन र रूपान्तरणका साथै मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता, रूपान्तरण र खारेजीका सेवा उपलब्ध हुनेछन्। कर चुक्ता प्रमाणपत्रसम्बन्धी सेवा पनि आन्तरिक राजस्व कार्यालय पोखराको समन्वयमा पालिकाबाटै दिइनेछ।

प्रमुख प्रशासकीय अधिकृत अर्यालका अनुसार करसम्बन्धी अधिकांश काम अब स्थानीय तहमै सम्पन्न हुनेछन्। पालिकाबाट समाधान नहुने प्राविधिक वा अन्य विषयमा भने आन्तरिक राजस्व कार्यालय पोखरासँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइनेछ।

पालिकामै करदाता सेवा सुरु भएपछि करको दायरामा आउने व्यक्ति तथा व्यवसायीको समय र आर्थिक खर्च बचत हुने अपेक्षा गाउँपालिकाले जनाएको छ।