देशका विभिन्न पाँच जिल्लामा छ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले आइतबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार रूपन्देही, सुनसरी, सिरहा, रूकुम पूर्व र सिन्धुलीमा शवहरू भेटिएका हुन् ।
रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ स्थित दानो नदीको किनारमा शनिबार करिब छ वर्षकी एक बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ । उनको नाम, थर र वतन भने खुलेको छैन ।
सुनसरीमा भने दुई जनाको शव फेला परेको छ । इनरूवा नगरपालिका–९ का ३० वर्षीय राजाराम ऋषीदेव शनिबार इनरूवा–९ कै संखरपुर शाखा नहरको छेउमा मृत अवस्थामा भेटिएका हुन् । त्यस्तै, बराहक्षेत्र नगरपालिका–९ राजाबास नोजस्थित सप्तकोशी नदीको किनारमा पहिचान नखुलेकी करिब ३५ वर्षीया महिलाको शव फेला परेको छ ।
सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हा चोकस्थित सडक छेउमा शनिबार करिब ३४ वर्षीय एक पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । उनको पनि नाम, थर र वतन खुलेको छैन ।
रूकुम पूर्वको भूमे गाउँपालिका–८ कुचिबाङका ६० वर्षीय बिर बहादुर पुन शनिबार कुचिबाङ खोलाको किनारमा मृत अवस्थामा फेला परेका छन् । सिन्धुलीको मरिण गाउँपालिका–२ का ६३ वर्षीय मंगोलधोज थिङ आइतबार सोही गाउँपालिका–३ भालुमारास्थित मरिण खोला छेउमा मृत भेटिएका हुन् ।
यी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।







