मुख्य सामग्रीमा जानुहोस्

कोशीमा पाँच वर्षमा सवारी दुर्घटना दोब्बर, २ हजार १९८ जनाको मृत्यु

कोशी प्रदेशको सडकमा दुर्घटनाको ग्राफ रोकिएको छैन । पाँच आर्थिक वर्षमा २२ हजार ९३१ दुर्घटना भई २ हजार १९८ जनाले ज्यान गुमाएका छन् । तीव्र गति र चालकको लापरबाही मुख्य कारण देखिएको छ ।

विश्वपत्र संवाददाता

· ४ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
कोशीमा पाँच वर्षमा सवारी दुर्घटना दोब्बर, २ हजार १९८ जनाको मृत्यु
Online Khabar

कोशी प्रदेशका सडकमा दुर्घटनाको जोखिम वर्षेनि बढ्दो छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्म प्रदेशभर २२ हजार ९३१ सवारी दुर्घटना भएका छन् । सोही अवधिमा गम्भीर घाइते हुनेको संख्या ४ हजार २९७ र सामान्य घाइते ३३ हजार ९६२ पुगेका छन् । कूल दुर्घटनामा २ हजार १९८ जनाको ज्यान गएको छ ।

औसत हेर्दा पछिल्लो पाँच वर्षमा प्रत्येक वर्ष करिब ४४० जनाको मृत्यु भएको देखिन्छ । तथ्यांकले दैनिक १.२ जनाभन्दा बढीको ज्यान सडक दुर्घटनामा गइरहेको र हरेक २० घण्टामा एक जनाले ज्यान गुमाउने अवस्था रहेको संकेत गर्छ ।

दुर्घटनाको पीडा केवल तथ्यांकमा सीमित छैन । इटहरी–९ का ८० वर्षीय उमानाथ भण्डारी २०७९ असोज ४ गते साँझ घरदेखि करिब ४० मिटर परको भित्री सडक काट्दै गर्दा इलेक्ट्रिक रिक्साको ठक्करमा परेका थिए । गम्भीर घाइते उनलाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै ज्यान गयो ।

नेकपा एमालेका नेता तथा कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीका अनुसार बुबाको स्वास्थ्यमा कुनै समस्या थिएन । दुर्घटनाले बुबाको मात्र ज्यान नलगी परिवारको एक भरोसा र महत्त्वपूर्ण आधार समेत गुमाएको उनी बताउँछन् । प्रदेश सरकारमा रहँदा उनले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखे पनि नीति र कार्यक्रम अपुग रहेको निष्कर्ष उनको छ ।

यस्तै पीडा धरान–६ घोपाली टोलका पत्रकार रणध्वज लोहारको छ । गत २०८२ असोज २९ गते राति करिब साढे ९ बजे धरान–६ पानबारीस्थित मदन भण्डारी राजमार्गको छतिवन चोकमा मोटरसाइकल दुर्घटनामा परेका उनी गम्भीर घाइते भए । सडकमा राखिएको ड्रममा ठोक्किएर टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेपछि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरियो । त्यहाँ ५४ दिन आईसीयूमा रहेर थप करिब १५ दिन उपचारपछि मात्र उनी घर फर्किएका थिए ।

तर करिब एक वर्ष बित्दासम्म उनको स्वास्थ्य लयमा फर्किएको छैन । घरमै थेरापी र औषधोपचार जारी छ । उपचारमा मात्र करिब ३० लाख रुपैयाँ खर्च भइसकेको छ । आम्दानीको स्रोत बन्द भएका कारण मासिक करिब ५ हजार रुपैयाँ उपचार खर्च जुटाउनु उनका लागि चुनौती बनेको छ । श्रीमती र दुई सन्तानको परिवारले ऋणको बोझ बढ्दै गर्दा आर्थिक संकट झेल्नुपरेको छ । अहिले शरीरको चोटभन्दा आर्थिक बोझले बढी पीडित भएको उनले सुनाए ।

पाँच वर्षमा दुर्घटना झण्डै दोब्बर

इटहरीस्थित ट्राफिक कार्यालयको विवरणले दुर्घटना बढ्दो क्रममा रहेको देखाउँछ । आर्थिक वर्ष २०७८/७९ मा ३ हजार ८२० दुर्घटना भएका थिए, जसमा ५३१ जनाको मृत्यु भयो । २०७९/८० मा ३ हजार ५१० दुर्घटना भई ४१२ जनाको ज्यान गयो । २०८०/८१ मा ३ हजार ५६३ दुर्घटना र ३९७ मृत्यु भएको विवरण छ ।

त्यसपछि दुर्घटना संख्यामा उल्लेख्य वृद्धि भयो । २०८१/८२ मा ५ हजार ६२६ दुर्घटना हुँदा ४१८ जनाको मृत्यु भयो । २०८२/८३ मा दुर्घटना ६ हजार ४१२ पुगे, जसमा ४४० जनाले ज्यान गुमाए । सो वर्ष ७४७ जना गम्भीर घाइते भएका छन् भने ९ हजार ९४० जनामा सामान्य चोट लागेको प्रहरी विवरणमा उल्लेख छ ।

पाँच वर्षको अवधिमा दुर्घटना संख्या ३ हजार ८२० बाट बढेर ६ हजार ४१२ पुग्नु भनेको करिब दोब्बर वृद्धि हो । यो आँकडाले कोशीको सडक सुरक्षा प्रणालीको प्रभावकारिता र चालक, सडक, सवारी नियमन तथा राज्यको उत्तरदायित्वमाथि नै प्रश्न उठाउँछ ।

तीव्र गति र लापरबाही मुख्य कारण

दुर्घटनाको कारणबारे ट्राफिक प्रहरीले चालकको लापरबाही, यात्रुको गल्ती, ओभरटेक, तीव्र गति, मादक तथा लागूपदार्थ सेवन, यान्त्रिक गडबडी, ओभरलोड, चौपाया, सडकको अवस्था र मौसमलाई वर्गीकरण गरेको छ । समग्र विवरणमा तीव्र गतिको हिस्सा ४३.५ प्रतिशत छ, जुन सबैभन्दा बढी हो । चालकको लापरबाही २७.७ प्रतिशत, यात्रुको गल्ती ८.८ प्रतिशत, मादक पदार्थ सेवन ७ प्रतिशत, सडकको अवस्था ४.५ प्रतिशत र यान्त्रिक गडबडी ४.३ प्रतिशत रहेको छ ।

तीव्र गति र चालकको लापरबाही मात्रै जोड्दा ७१.२ प्रतिशत पुग्छ, जसले तीनमध्ये दुईभन्दा बढी दुर्घटना चालककै व्यवहारसँग जोडिएको संकेत गर्छ । सडक सुरक्षाका जानकार गोविन्द भट्टराई देशभर दैनिक ७ देखि ८ जनासम्म सडक दुर्घटनामा अकालमै ज्यान गुमाइरहँदा यसलाई राज्यको असफलता मान्नुपर्ने बताउँछन् । उनका अनुसार दुर्घटना प्राविधिक घटना मात्र नभई कमजोर सडक निर्माण, अव्यवस्थित सवारी व्यवस्थापन, कमजोर नियमन र कुशासनको उपज हो । यसका लागि मन्त्री, ठेकेदार, यातायात व्यवसायी, नियामक निकाय र नीति निर्माण तह सबै जिम्मेवार रहने उनको तर्क छ ।

सडक दुर्घटनामा ज्यान गुमाउनेभन्दा पनि धेरै मानिस अंगभंग र दीर्घकालीन अशक्ततामा पर्ने गरेको भट्टराई बताउँछन् । उद्धार, उपचार र पुनर्स्थापनामा राज्य र परिवारले अर्बौं रुपैयाँ खर्च गर्नुपर्ने, मुख्य आम्दानीकर्ता गुम्दा गरिबी र सामाजिक असन्तुलन बढ्ने उनको भनाइ छ । सडकको सुरक्षास्तरको नियमित मूल्यांकन, नयाँ सडकमा न्यूनतम सुरक्षा मापदण्ड अनिवार्य, गुणस्तरीय चालक तालिम र मापदण्डविपरीतका सडक रोक्नुपर्नेमा उनले जोड दिए ।

दुईपांग्रे सवारी र तराईका जिल्लामा जोखिम

दुर्घटनामा संलग्न सवारी साधनमध्ये मोटरसाइकल र स्कुटरको संख्या सबैभन्दा धेरै छ । आर्थिक वर्ष २०८२/८३ मा मोरङमा दुर्घटनामा परेका कुल ३ हजार ३५८ सवारीमध्ये १ हजार ८६६ मोटरसाइकल र स्कुटर थिए । सुनसरीमा १ हजार २४४, झापामा १ हजार ३३९ र उदयपुरमा ३५७ दुईपांग्रे सवारी दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।

जिल्लागत तथ्यांक हेर्दा मोरङ, सुनसरी र झापा दुर्घटनाका मुख्य केन्द्र हुन् । २०८२/८३ मा मोरङमा २ हजार ६५, सुनसरीमा १ हजार ३३९ र झापामा १ हजार ३८३ दुर्घटना भए । सो अवधिमा मोरङमा १०९, सुनसरीमा १११, झापामा ६६ र उदयपुरमा ४५ जनाको मृत्यु भएको विवरण छ ।

समयगत विश्लेषणले दिउँसो १२ बजेदेखि राति मध्यरातसम्म दुर्घटना बढी हुने देखाउँछ । सुनसरीमा १२–१८ बजेसम्म ५५० र १८–२४ बजेसम्म ५९५ दुर्घटना भए । यस्तै अवधिमा झापामा क्रमशः ५६९ र ५८० दुर्घटना भएका छन् भने मोरङमा ८७० र ८७२ दुर्घटना भएका प्रहरी विवरणले देखाउँछ ।

दुर्घटना भइसकेपछि शोक व्यक्त गर्नेभन्दा पनि दुर्घटना हुनै नदिने नीति र पूर्वतयारीमा राज्य, प्रदेश र स्थानीय सरकार केन्द्रित हुनुपर्ने देखिएको छ । सडक सुरक्षालाई जनस्वास्थ्य, अर्थतन्त्र र नागरिकको बाँच्न पाउने अधिकारसँग जोडेर हेर्न जानकारहरूले सुझाव दिएका छन् ।