बारा — जितपुरसिमरा उपमहानगरपालिका–१८ मा विद्युत्का पोल र तार आसपासमै हुँदाहुँदै पनि वर्षौंदेखि अँध्यारोमा बस्दै आएका ३८ दलित तथा अति विपन्न परिवारका लागि सोमबार राहतको दिन बनेको छ। वडा कार्यालयले ती परिवारलाई विद्युत् मिटर, एमसीबी र केबल तार निःशुल्क उपलब्ध गराएको हो।
वडा कार्यालयमा आयोजित एक कार्यक्रमबीच लाभग्राही ३८ घरधुरीका प्रतिनिधिलाई ती सामग्री हस्तान्तरण गरिएको छ। वडाध्यक्ष चतुरबाबु वाग्लेका अनुसार यो सहयोग वडाको अघिल्लो आर्थिक वर्षको बजेटबाट गरिएको हो। विद्युत् पूर्वाधार भए पनि आर्थिक अभावका कारण घरमा बत्ती बाल्न नसकेका परिवारलाई सेवामा जोड्न सामग्री वितरण गरिएको उनले बताए।
वडाध्यक्ष वाग्लेले आर्थिक वर्ष २०२५/२६ को पहिलो चार महिनाभित्रै लाभग्राही छनोट गरिए पनि बजेट निकासामा ढिलाइ हुँदा वितरण अहिले मात्र सम्भव भएको जानकारी दिए। कार्यक्रममा वडासचिव निरुता कर्की र अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नेपाल विद्युत् प्राधिकरणका प्राविधिकहरूले मंगलबारदेखि विद्युत् मिटर र अन्य सामग्री जडान गर्न सुरु गर्ने वाग्लेले बताए।
निःशुल्क सामग्री पाएपछि स्थानीय बासिन्दा खुसी देखिएका छन्। मिटर बक्स प्राप्त गरेका स्थानीय रुदल माझीले विपन्नताकै कारण लामो समय अँध्यारोमा बिताउनुपरेको बताउँदै अब भने उज्यालो जीवन बाँच्न पाइने भन्दै खुसी व्यक्त गरे।
“गरिबीका कारण अँध्यारो सहनुपर्यो । अब उज्यालोमा बाँच्न पाइने भयो । योभन्दा ठूलो खुसी अरू के हुन सक्छ?” उनले भने।
वडा कार्यालयले समाजका सबैभन्दा जोखिममा रहेका परिवारलाई आधारभूत विद्युत् सेवामा पहुँच पुर्याउने उद्देश्यले यो कार्यक्रम अघि बढाएको जनाएको छ।






