मुख्य सामग्रीमा जानुहोस्

किङ्स टी–१० इन्डोर क्रिकेटको उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूले जित्यो

रोयल स्पोर्ट्स पार्क ब्लूले किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि जितेको छ । फाइनलमा ब्याकयार्ड बीलाई ७६ रनले हराउँदै रोयल च्याम्पियन बनेको हो । हर्षल भण्डारी उत्कृष्ट बलर, अमित श्रेष्ठ उत्कृष्ट ब्याट्सम्यान र…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
किङ्स टी–१० इन्डोर क्रिकेटको उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूले जित्यो
Online Khabar

काठमाडौं, १० भदौ । किङ्स टी–१० इन्डोर टुर्नामेन्टको दोस्रो संस्करणको उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूले आफ्नो नाममा लेखाएको छ । रोयल स्पोर्ट्स पार्कमा सोमबार सम्पन्न फाइनलमा ब्याकयार्ड बीलाई ७६ रनको फरकले हराउँदै रोयल स्पोर्ट्स पार्क ब्लू च्याम्पियन बनेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको रोयल स्पोर्ट्स पार्क ब्लूले निर्धारित १० ओभरमा २ विकेट गुमाएर ९८ रनको योगफल खडा गर्‍यो । रोयलका लागि नरेन्द्रले सर्वाधिक ३७ रन बनाए भने आश्रयले २० रन जोडे ।

९९ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको ब्याकयार्ड बी भने ७ विकेट गुमाएर २२ रनमा सीमित भयो । ब्याकयार्ड बीका सृजलले मात्र ८ रन बनाउन सके भने अन्य ब्याटर दोहोरो अंकमा पुग्न असफल रहे ।

फाइनल सुरु हुनुअघि स्वर्गीय निर्मल पुर्जा (निम्सदाइ) को सम्झनामा विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो । समापन समारोहमा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने प्रतियोगिताकी ब्रान्ड एम्बेसडर रजिना बिष्टले पनि सहभागिता जनाएकी थिइन् ।

व्यक्तिगत पुरस्कारतर्फ ७ विकेट लिएका हर्षल भण्डारी उत्कृष्ट बलर घोषित भए । त्यस्तै, १०६ रन बनाएका अमित श्रेष्ठ उत्कृष्ट ब्याट्सम्यान बने भने १७ विकेट हात पारेका लक्ष्मण देवकोटा (निम्सभाइ) प्लेयर अफ द टुर्नामेन्ट चुनिए ।

किङ्स क्रिकेट एकेडेमी, रोयल स्पोर्ट्स पार्क र त्रिकल्प इभेन्ट्सको संयुक्त आयोजनामा भएको यस प्रतियोगिताले नेपाली इन्डोर क्रिकेटमा थप उत्साह र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको आयोजकहरूले बताएका छन् ।