मुख्य सामग्रीमा जानुहोस्

टिमुरे बजार तहसनहस, दुई सय जनाको उद्धार पर्खाइ : भोटेकोशी बाढीपछि वडासदस्य घलेको अपिल

भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरे बजार पूर्णरूपमा तहसनहस बनाएको छ। सयभन्दा बढी घर प्रभावित भएको र दुई सय मानिस डाँडामा बसेर उद्धारको पर्खाइमा रहेको वडासदस्य पेमा दोर्जे घलेले बताएका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

१पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
टिमुरे बजार तहसनहस, दुई सय जनाको उद्धार पर्खाइ : भोटेकोशी बाढीपछि वडासदस्य घलेको अपिल
Online Khabar

१० भदौ, काठमाडौं । तिब्बततर्फबाट आएको बाढीले रसुवा–नुवाकोट क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ। भोटेकोशी नदीमा आएको बाढीले तटीय बस्ती बगाएको छ, तर क्षतिको सम्पूर्ण विवरण आउन बाँकी नै छ।

गोसाइकुण्ड गाउँपालिका–२ का वडासदस्य पेमा दोर्जे घलेका अनुसार टिमुरे बजार अहिले पूर्ण रूपमा बगेको छ। सयभन्दा बढी घर रहेको अनुमान गरिएको सो बस्तीमा अहिले धेरै मानिस उद्धारको प्रतीक्षामा डाँडामा आश्रय लिएर बसेका छन्।

बिहान साढे आठ बजेतिर अचानक ठूलो आवाजसहित बाढी आएको र प्रतिक्रिया दिने मौकै नपाइ बस्ती नै तहसनहस भएको घलेले बताए। टिमुरे बजारको कुनै संरचना बाँकी नरहेको, कति घर क्षतिग्रस्त भए र कति मानिस बेपत्ता भए भन्ने यकिन नभएको उनको भनाइ छ।

माथिबाट आएको बाढीको अवस्था हेर्दा केही पनि जोगिएको छैन जस्तो देखिएको उनले सुनाए। उनीसहित सुरक्षित स्थानतर्फ भागेका स्थानीयवासीसँग खानेकुरा र बालबालिकाको हेरचाह गर्ने कुनै साधन छैन। घलेका अनुसार उनीहरू बगेको पानी नै पिएर दिन बिताइरहेका छन्।

उद्धारका लागि आकाशमा हेलिकप्टर घुमे पनि ती उनीहरूसम्म पुग्न सकेका छैनन्। आफूहरू दुई सय जना उद्धारको पर्खाइमा रहेको र सरकारी निकायले सम्पर्क गरेर उद्धार गरिदिए ठूलो राहत हुने घलेको भनाइ छ। उनले आफ्नो सम्पर्क नम्बर ९८६२२६३५०६ समेत सार्वजनिक गर्दै सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन्।

रसुवा क्षेत्रमा बाढीका कारण भएको क्षतिबारे थप विवरण आउन बाँकी छ।