रसुवाको उत्तरगया गाउँपालिका अध्यक्ष माधव अर्यालले तिब्बत क्षेत्रबाट भोटेकोशी नदी हुँदै आएको बाढीले जिल्लाका तटीय बस्तीहरूमा ठूलो क्षति पुर्याएको र स्थिति अत्यन्तै गम्भीर रहेको बताएका छन् । उनका अनुसार अहिलेसम्म राज्यका निकायसँग उद्धार र राहतको प्रभावकारी समन्वय हुन सकेको छैन ।
बाढी आउनुअघि कुनै निकायबाट पूर्वसूचना नआएको र सूचना दिने जिम्मेवारीमा रहेकाहरूले पनि बाढी आइसकेपछि मात्र घटनाको जानकारी पाएको अर्यालले बताए । आफूले बाढी आउनु १५ मिनेटअघि मात्र खबर पाएको र कार्यालय पुगेको पाँच मिनेटभित्रै गाउँपालिका कार्यालय बाढीले पुरेको उनले सुनाए । त्यसक्रममा केही कर्मचारी बेपत्ता भएका छन् ।
भोटेकोशी र त्रिशूली नदीका वरपरका तटीय क्षेत्र प्रभावित भएका छन् । रसुवागढी सीमा नजिकको टिमुरेदेखि स्याफ्रुबेसी, हाकुबेसीका घर, मैलुङ, शान्तिबजार, पाहिरोबेसी, नौबीसे, कन्जल्टार र बेत्रावती बजारसम्मका संरचना ध्वस्त भएको अर्यालले बताए । उनका अनुसार धेरै मानिस बेपत्ता छन् भने नदी किनारमा शवहरू तैरिएको सूचना आएको छ । परिवारका सदस्यहरू रोइकराइ गरिरहेका छन् ।
बजार क्षेत्रमा जनघनत्व बढी भएकाले प्रभावितको संख्या धेरै हुन सक्ने अनुमान छ । यकिन तथ्यांक आइनसकेको अवस्थामा अहिले नै संख्या भन्न नसकिने अर्यालले बताए । घटना बिहान विद्यालय खुल्ने समयमा भएकाले विद्यार्थीहरू पनि जोखिममा परेका छन् । उत्तरगया बोर्डिङ स्कुल र ट्रिनिटी बोर्डिङ स्कुल क्षतिग्रस्त भएका छन् । ट्रिनिटी बोर्डिङ स्कुलको नामोनिशानसमेत नरहेको र त्यहाँ करिब डेढ–दुई सय विद्यार्थी रहेको हुनसक्ने उनले बताए । माथिल्लो टिमुरे र स्याफ्रुबेसीका दुई सामुदायिक विद्यालय पनि क्षतिग्रस्त भएका छन् ।
तत्काल उद्धार सबैभन्दा जरुरी रहेको अर्यालको भनाइ छ । नदी किनारमा देखिएका शवलाई स्थानीय बासिन्दाले आफैं निकाल्ने प्रयास गरिरहेका छन् । गाउँपालिकासँग उद्धारका साधन नरहेको र भएका सबै सामग्री बाढीले बगाएको उनले बताए । घर बगाएर अलपत्र परेकाहरूलाई अस्थायी खानेबस्ने व्यवस्था गर्नुपर्ने अवस्था छ । नदी किनारमा मानिसहरू हात उठाइरहेकाले सेनाको हेलिकप्टरबाट तत्काल उद्धार गर्नुपर्ने उनको भनाइ छ ।
घाइतेहरूलाई तत्काल उद्धार गरेर सुविधासम्पन्न अस्पताल भएको काठमाडौं लैजानुपर्ने र बाढीका कारण खानेपानी र खानाविहीन भएकाहरूको व्यवस्थापन गर्नुपर्ने उनले बताए । यतिबेला आफूहरूले सम्भव भएसम्म सहयोग गरिरहे पनि राज्यको तर्फबाट कुनै समन्वय नभएको र आफ्नै स्रोतसाधनसमेत बाढीले बगाएको उनको भनाइ छ ।
संघ र प्रदेश सरकारसँग कुराकानी हुन नसकेको र भर्खर मात्र विपत् प्राधिकरणसँग सम्पर्क भएको अर्यालले बताए । तत्काल गर्नुपर्ने कामहरू पनि अगाडि बढाउन नसकिएको उनको भनाइ छ । पछिल्लो समय बाढीको बहावमा खासै वृद्धि नभए पनि नदी किनारका सडकहरू पूर्ण रूपमा बगाएको उनले बताए । उनका अनुसार यो बाढी पुराना पुस्ताले पनि नदेखेको र कसैले पूर्वानुमानसमेत नगरेको घटना हो ।







