रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएकाहरूका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार संगठनले एक हजार जनालाई पुग्ने आधारभूत औषधि र स्वास्थ्य उपकरण उपलब्ध गराउने तयारी गरेको हो।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँगको कुराकानीपछि यो सहयोग पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ। त्यसैगरी, बाढी प्रभावित क्षेत्रका लागि २४ स्क्वायर मिटर क्षेत्रफलका १५ वटा आपतकालीन टेन्ट पनि पठाउने भएको छ।
बाढी प्रभावितको उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपतकालीन शय्या छुट्याइएको मन्त्रालयले जनाएको छ। हालसम्म तीन जना घाइतेलाई उद्धार गरी काठमाडौं ल्याइएको छ।
आपतकालीन स्वास्थ्य सेवा सुचारु गर्न काठमाडौंका संघीय अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, लायन्स र नेपाल स्काउटसँग समन्वय भइरहेको छ।







