मुख्य सामग्रीमा जानुहोस्

रसुवा बाढी : ९५ शव फेला, ८५ सुरक्षाकर्मीसहित सयौं सम्पर्कविहीन

बुधबार बिहान आएको भीषण बाढीमा परी रसुवा र नुवाकोटमा हालसम्म ९५ जनाको शव फेला परेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका ८५ सुरक्षाकर्मी पनि बेपत्ता भएका छन्। सरकारले प्रभावित पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा…

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
रसुवा बाढी : ९५ शव फेला, ८५ सुरक्षाकर्मीसहित सयौं सम्पर्कविहीन
Online Khabar

भदौ १०, काठमाडौं । बुधबार बिहान चीनको तिब्बततर्फबाट अचानक आएको भीषण बाढीले रसुवा र नुवाकोटका विभिन्न बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। नेपाल प्रहरीका अनुसार हालसम्म ९५ शव फेला परिसकेका छन् भने सयौं व्यक्ति सम्पर्कविहीन छन्। बेपत्ताको यकिन विवरण र शवहरूको पहिचान हुन अझै बाँकी छ।

भोटेकोशी हुँदै आएको बाढीले टिमुरे, स्याप्रुबेंशी, मेलुङ, बेत्रावती, त्रिशुली बजार र ढुंगेबजारलगायत क्षेत्रमा विध्वंस पुर्‍याएको छ। धादिङको समरमुकाम जाने पुलसहित करिब १९ पुल बगाएको छ।

प्रभावित क्षेत्रमा सुरक्षाकर्मी नै ठूलो संख्यामा बेपत्ता भएका छन्। नेपाल प्रहरीका ३२, सशस्त्र प्रहरीका ९ र नेपाली सेनाका ४४ गरी ८५ सुरक्षाकर्मी सम्पर्कविहीन रहेको आधिकारिक विवरण छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले बेपत्ताको यकिन विवरण प्राप्त गर्न बाँकी रहेको बताएका छन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन रहेको जानकारी दिएका छन्। प्रहरीतर्फ टिमुरे, स्याप्रुबेंशी, रसुवागढी र मेलुङका प्रहरी कार्यालय तथा चौकीमा कार्यरत कर्मचारीहरू बेपत्ता भएका हुन्। सशस्त्र प्रहरीको बीओपी टिमुरेका ९ जना पनि सम्पर्कविहीन छन्।

बेत्रावती प्रहरी चौकीमा कार्यरत सहायक हवल्दार सन्तोष रिजाल बाढी आउँदै गरेको जानकारी दिँदै माइकिङ गर्दागर्दै भागेर ज्यान जोगाएका थिए। घटनाका प्रत्यक्षदर्शीसमेत रहेका उनले क्षतिको यकिन विवरण दिन सक्ने अवस्था नरहेको बताएका छन्।

घटनापछि सरकारले उद्धारलाई प्राथमिकतामा राखेको छ। प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत् घटनाबारे जानकारी दिँदै खोज तथा उद्धारमा सबै सुरक्षा निकाय परिचालन भइसकेको बताएका थिए। मन्त्रिपरिषद् बैठकले प्रभावित पालिकालाई बाढी संकटग्रस्त क्षेत्र घोषणा गर्दै गृहमन्त्रीलाई हेलिकप्टरसहित सबै साधन परिचालन गर्ने अधिकार दिएको छ। गृहमन्त्री सुधन गुरुङ उद्धार तयारीका लागि काठमाडौंको विमानस्थलमा पुगेका थिए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेर क्षतिको विवरण बुझेको थियो।

खोज तथा उद्धारमा परिचालित निकाय

खोज तथा उद्धारका लागि नेपाली सेनाका धुन्चे र त्रिशूली ब्यारेकबाट टोली परिचालन भएको छ। धादिङको गजुरीस्थित नं. ६ बाहिनी अड्डाबाट विपद् व्यवस्थापनमा दक्ष टोली पनि खटाइएको छ। सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार इमर्जेन्सी मेडिकल रेस्क्यु टिमसहित एमआई–१७ हेलिकप्टर उद्धारमा खटिएको थियो। लाङटाङ राष्ट्रिय निकुञ्ज र जलविद्युत् परियोजनाको सुरक्षामा खटिएका ४४ सैनिक भने सम्पर्कमा आउन सकेका छैनन्।

नेपाली सेनाका ७ र निजी क्षेत्रका ८ गरी १५ हेलिकप्टरले हवाई उद्धार गरेका छन्। हवाईमार्फत मात्रै ९७ जनाको उद्धार भएको सैनिक प्रवक्ता बस्नेतले बताएका छन्। सशस्त्र प्रहरी बलका ११ सय जनशक्ति उद्धारमा खटिएका छन् भने नेपाल प्रहरीका टोली पनि खोजी र उद्धारमा सक्रिय छन्। उद्धार गरी ल्याइएका घाइतेको उपचारका लागि एपीएफ अस्पताल, त्रिवि शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा ठाउँ खाली गरिएको थियो। ट्रमा सेन्टरदेखि तीनै सुरक्षा निकायका डाक्टरसहितका टोली त्रिशूली पठाइएको छ भने विमानस्थलमा १० एम्बुलेन्स स्ट्यान्डबाइ राखिएको थियो।

उद्धारका क्रममा साधनको अभाव

यसपटक उद्धारमा सुरक्षा निकाय र सरकारको सक्रियता देखिए पनि साधनको अभाव भने कायमै छ। अवकाशप्राप्त महासेनानी तथा संकट, आपतकालीन र विपद् व्यवस्थापन विशेषज्ञ रतिन्द्र खत्रीले सुरक्षाकर्मी नै ठूलो संख्यामा बेपत्ता भएको र बाढीको जोखिम कायमै रहेकाले यो सक्रियतालाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन्।

तर, उद्धारको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलसँग आफ्नै हवाई साधन छैन। निजी हेलिकप्टरको प्रतीक्षा गर्नुपर्दा उद्धारमा कठिनाइ भएको सुरक्षाकर्मीहरूले बताएका छन्। नेपाल प्रहरीसँग पनि हवाई साधनदेखि उद्धारका लागि आवश्यक पर्ने पर्याप्त स्रोत–साधन छैन।

यसअघि काठमाडौंको नख्खु खोलामा बाढीले नागरिक बगाउँदादेखि रोशी र धादिङका घटनामा समेत राज्य संयन्त्र प्रभावकारी ढंगले परिचालन हुन नसकेको आलोचना भएको थियो। तर, रसुवाको बाढीपछि भने सुरक्षा निकाय र सरकार सक्रिय देखिएको खत्रीको बुझाइ छ। उनका अनुसार अहिलेको आवश्यकता कमजोरीको चर्चा होइन, सबैको सहयोग र एकताबद्ध प्रयास हो। आपत्कालीन गोदाममा रहेका सामग्री पनि उद्धारका लागि प्रयोग भएको उनले बताएका छन्।