भदौ १०, काठमाडौं। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीले रसुवागढी भन्सार क्षेत्रका अर्बौं रुपैयाँका मालसामान बगाएको छ। टिमुरेस्थित भन्सार यार्ड जलमग्न भएसँगै त्यहाँ रहेका सयौं कन्टेनर, दुई सयभन्दा बढी ट्रक र पाँचदेखि सात सयसम्म विद्युतीय सवारीसाधन पनि बाढीले बगाएको अनुमान गरिएको छ।
बाढीले भन्सार कार्यालय र आसपासका दर्जनौं बस्तीलाई समेत प्रभावित बनाएको छ। केही दिनदेखि बन्द रहेको सो नाका आजैदेखि खुल्ने सूचना पाएपछि सामान छुटाउन काठमाडौंबाट ठूलो संख्यामा व्यवसायी र चालक पनि टिमुरे पुगेका थिए।
तिज, दसैं, तिहार र छठ लक्षित गरी चीनबाट ल्याइएका लत्ताकपडा, जुत्ताचप्पल, खाद्यान्न, ब्याग तथा विद्युतीय उपकरण हाल भन्सार यार्डमा थन्किएका थिए। चाडपर्व भदौदेखि सुरु हुने भएकाले व्यवसायीले असार र साउनमै चीन पुगेर अर्डर गरेका सामानहरू बाढी आउँदा भन्सार क्षेत्रमै रोकिएको अवस्था थियो।
साउनदेखि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनबाट आयात हुने अधिकांश सामान रसुवागढीतर्फ मोडिएको थियो। तर वर्षायाममा नेपालतर्फको सडक बिग्रिएपछि माल ढुवानी हुन नसक्दा भन्सार यार्डमा ठूलो परिमाणको सामान र कन्टेनर थुप्रिएका थिए। चाडपर्व लक्षित कुल सामानमध्ये आधाभन्दा बढी बिहानको समयमा भन्सार क्षेत्रमै रहेको अनुमान छ।
बाढीका कारण सञ्चारका टावरमा क्षति पुगेपछि क्षेत्रको टेलिफोन र इन्टरनेट नेटवर्क पूर्ण रूपमा विच्छेद भएको छ। नेटवर्क नभएकै कारण यकिन मानवीय र भौतिक क्षतिको विवरण संकलन गर्न कठिन भइरहेको छ। बाढीको प्रभाव रसुवाका तल्लो तटीय क्षेत्रसँगै नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लासम्म देखिएको छ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले रसुवागढी नाकामा सामान ढुवानीका लागि पुगेका दुई सयभन्दा बढी ट्रक बाढीले बगाएको बताए। विभिन्न स्रोतबाट आएको अपुष्ट जानकारीले भन्सार यार्ड रित्तिएको संकेत गरेको उनको भनाइ छ। यार्डका सवारीसाधन सबै बगेको हुन सक्ने र धेरै चालक तथा कामदार सम्पर्कविहीन रहेको उनले बताए।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव बद्रीप्रसाद चौलागाईंले चीनको तिब्बती भूभागबाट आएको बाढीले टिमुरे भन्सार यार्डका मालवाहक सवारीसाधन बगाएको र बेत्रावतीमा पार्किङ गरिएका सवारीसाधनमा पनि ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी दिएका छन्।
व्यवसायीहरूले भने अहिले क्षतिको हिसाबभन्दा मानवीय क्षति नै चिन्ताको विषय बनेको बताएका छन्। नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठले विपत्तिलाई गम्भीर मानवीय संकटका रूपमा लिइएको र अहिलेको पहिलो प्राथमिकता सम्पर्कविहीन व्यवसायी, चालक र कामदारको खोजी रहेको बताए। कन्टेनरभन्दा मान्छे खोज्नु अहिलेको मुख्य काम भएको उनको भनाइ छ।
चाडपर्वको सामान भित्रिने पिक समय भएकाले विगत १२–१५ दिनदेखि भन्सार क्लियरिङ एजेन्ट, व्यवसायी र चालक टिमुरेमा बाक्लो संख्यामा छन्। श्रेष्ठका अनुसार भन्सार यार्ड र पुलपारि कति गाडी थिए भन्ने यकिन विवरण बेलुकासम्म आउन सक्नेछ।
नेपाल समुद्रपार निकासी पैठारी संघका महासचिव जयन्तकुमार अग्रवालले बाढीले मानिस नै बगाएको खबरले व्यावसायिक क्षेत्र त्रसित बनाएको बताए। व्यापारिक घाटा केही हदसम्म पूर्ति हुन सक्ने तर मानवीय क्षतिको पूर्ति नहुने उनको भनाइ छ। उनका अनुसार भन्सारमा काम गर्ने ४९ जना एजेन्टमध्ये कति सुरक्षित छन् भन्ने अझै स्पष्ट छैन।
न्युरोडस्थित आरबी कम्प्लेक्स व्यवसायी संघका अध्यक्ष परशुराम दाहालले आफ्ना ढुवानीकर्तासँग बिहानैदेखि सम्पर्क नभएको बताए। उनको करिब सातदेखि आठ लाख रुपैयाँ बराबरको सामान भन्सार क्षेत्रमै रहेको अनुमान छ। बजारमा करिब १५ सय मानिस टिमुरे पुगेको चर्चा रहेको दाहालले सुनाए। तीमध्ये डेढ सयदेखि दुई सय कन्टेनर चालक रहेको उनको भनाइ छ।
यसले आगामी चाडपर्वमा बजारमा सामानको अभाव र मूल्यवृद्धि निम्त्याउने देखिन्छ। ऋणको भार बोकेर व्यापार सञ्चालन गर्दै आएका साना र ठूला हजारौं व्यवसायीलाई यस विपत्तिले प्रत्यक्ष असर पुर्याउने देखिएको छ।
खोजी र उद्धारमा सुरक्षा निकाय
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी खोजी तथा उद्धार कार्यमा जुटेका छन्। सरकारले क्षतिको पूर्ण विवरण उद्धार र खोजी कार्य अघि बढेपछि मात्र यकिन हुने बताएको छ।







