भदौ १० गते बिहान चीनबाट भित्रिएको भोटेकोशी (त्रिशूली) बाढीले नुवाकोटका नदी किनारका बस्ती र बजारहरू बगरमा परिणत गरिदिएको छ। रसुवागढी नाका हुँदै नेपालतर्फ पसेको बाढीले रसुवादेखि चितवनसम्मका नदी आसपासका क्षेत्रको स्वरूप नै बदलिदिएको छ।
बिहान ९ बजे रसुवागढीबाट भित्रिएको बाढीले टिमुरे, स्याफ्रुबेंशी लगायतका बजारहरूलाई क्षणभरमै बगाएको थियो। मैलुङ, पैरेबेंशी, खाल्टे र बेत्रावती जस्ता गाउँबस्तीसमेत नदीको भीषण बहावमा बिलाए। नुवाकोटतर्फ बग्दै जाँदा नदी किनारका घना बस्तीहरू केही मिनेटमै लेदो र ढुंगामुढाले छोपिए। माथिल्लो क्षेत्रबाट सयौं सवारी साधन र भाग्न नभ्याएका स्थानीयका शवसमेत बाढीले बगाएर ल्याएको देखिन्थ्यो।
नुवाकोट, धादिङ र रसुवाकै पहिलो व्यापारिक केन्द्र मानिने त्रिशूली बजार केही मिनेटमै नामेट भयो। त्रिशूली र देवीघाटका दुई जलविद्युत् आयोजनासँगै नेपालकै ठूलो क्षमताको भनिएको एउटा सोलार विद्युत् आयोजना पनि बाढीसँगै बगेको छ। बिजुली आपूर्ति ठप्प हुँदा नुवाकोट र रसुवाका सम्पूर्ण क्षेत्र अन्धकार बनेका छन्।
यसबाहेक जिल्लाकै पुरानो शैक्षिक केन्द्र त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय पनि विनाशको सिकार भएको छ भने अन्य तीन विद्यालय बाढीमा बिलाएका छन्। धार्मिक दृष्टिले चर्चित देवीघाट बजार हिलोमा लपेटिएको छ। धेरै सरकारी कार्यालयहरू पनि क्षतिग्रस्त भएका छन्।
रसुवा सीमादेखि धादिङको गल्छीसम्मका पक्की तथा अन्य गरी २० भन्दा बढी पुल बाढीले बगाएको छ। यसले नदी वारपार गर्ने सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको छ। बगाइएका घरहरूको यकीन विवरण आउन सकेको छैन। खेतीयोग्य फाँट र जमिन बग्दा उर्वर क्षेत्र बन्जर बनेको छ।
यात्रामा रहेका धेरै व्यक्ति हराइरहेको र सम्पर्कविहीन भएकाले नागरिकहरूमा थप पीडा थपिएको छ। प्रहरी र स्थानीय प्रशासनले खोजी तथा उद्धारका काम जारी राखे पनि यकीन विवरण आइसकेको छैन। कतिपय शव बाढीले छोडेको बगरमा भेटिएका छन् भने केहीलाई जीवितै उद्धार गरेर उपचारका लागि पठाइएको छ।







