भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशीमा आएको अचानक बाढीले तटीय क्षेत्रका बस्तीहरू उडाएको छ । हेलिकप्टरबाट टिमुरे, धुन्चे, मैलुङ, स्याफ्रुबेसी, बेत्रावती र विदुर क्षेत्रको अवलोकन गर्दा बस्तीहरू खण्डहरमा परिणत भएको देखिन्छ । कति मानिस बेपत्ता भए भन्ने यकिन भएको छैन, तर उद्धारमा खटिएकाहरूले धेरै मानिस बाढीमा परेको बताएका छन् ।
बिहानैदेखि उद्धारमा खटिएका कैलाश हेलिकप्टरका पाइलट निश्चल अधिकारीले प्रभावित क्षेत्रको अवस्था गम्भीर रहेको सुनाए । उनका अनुसार कतिपय घाइते माटोमा पुरिएका छन् भने कसैका हातखुट्टा भाँचिएका छन् । पहिले बाक्लो बस्ती रहेको ठाउँमा अहिले एक पनि घर बाँकी नरहेको उनले बताए ।
बाढीको पानी खोलाको सतहदेखि करिब २७० फिट माथिसम्मका बस्तीहरूमा पसेको थियो । भागेर बाँच्न सफल भएकाहरू बस्तीभन्दा माथिका डाँडामा पुगेर आश्रय लिइरहेका छन् । कोही बाढीले घेरिएका घरका छतमा चढेर उद्धारको प्रतीक्षा गरिरहेका छन् ।
उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालन गरिएको छ । तर रसुवा, नुवाकोट, धादिङ र गोरखाका प्रभावित क्षेत्रमा उद्धार गर्न कठिनाइ भइरहेको छ । हेलिप्याड नभएकाले खेतबारीका कान्लामै हेलिकप्टर अवतरण गराएर घाइतेलाई निकाल्नुपर्ने बाध्यता रहेको पाइलट अधिकारीले बताए ।
रसुवागढी नाकामा भने कुनै पनि भवन बाँकी छैन । अघिल्लो वर्षको बाढीपछि पुनर्निर्माणको उन्मुख अवस्थामा रहेको नाका फेरि पूर्णरूपमा बगाएको छ । नेपाल र चीन दुवैतर्फका भवनहरू बगेका छन् । बगेका घरका संरचना खोलाको बीचमा देखिन्छन् । नाकामा राखिएका सवारी साधनहरू पनि बगेका वा हिलोमा पुरिएका छन् ।
सडकका विभिन्न खण्ड अवरुद्ध भएका छन्, कतिपय ठाउँमा बाटो नै देखिन छोडिएको छ । बाढीले निर्माणाधीन हाइड्रोपावर आयोजनाका संरचनाहरू समेत बगाएको छ । कति आयोजना बगे भन्ने विवरण आइसकेको छैन । हाइड्रोपावरमा काम गरिरहेका कर्मचारीहरू उद्धारको प्रतीक्षामा रहेको बताइएको छ ।
रसुवाको सदरमुकाम धुन्चे भने बाढीबाट जोगिएको छ । घाइतेहरूलाई धुन्चे ल्याएर उद्धार गर्ने क्रम जारी छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले धुन्चे सुरक्षित रहे पनि क्षति भने निकै ठूलो भएको बताए । सडक पहुँच पूर्णरूपमा अवरुद्ध रहेका कारण अहिले घाइतेको उद्धारलाई प्राथमिकता दिइएको उनको भनाइ छ । गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट काठमाडौं पठाइएको छ ।
भदौ १२ गते जनै पूर्णिमाका अवसरमा गोसाइकुण्ड जान लागेका तीर्थयात्रीहरू बाटोमै फसेका छन् । कैलाश पर्वत जान लागेकाहरू पनि रोकिएका छन् । साँझ परेसँगै घरबारविहीन भएकाहरू खुला आकाशमुनि बस्न बाध्य छन् । बाँचेकाहरू खाना र बासको प्रतीक्षामा छन् ।
क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ ।
बाढीको कारणबारे अनुसन्धान जारी
नेपालतर्फ पानी नपरेकाले भोटेकोशीमा आएको बाढी चीनतर्फबाट आएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी परियारले बताए । उनका अनुसार नेपालतर्फ ठूलो हिमताल छैन र धुन्चेमा अघिल्लो रात अलिअलि मात्र पानी परेको थियो । बाढीको कारण पत्ता लगाउन अध्ययन भइरहेको छ ।







