बुधबार बिहान रसुवाको टिमुरे बजारमा आएको विनाशकारी बाढीले स्याफ्रुबेसी, बेत्रावती र त्रिशूलीसम्मका बजारहरू तहसनहस पारेको छ । बाढीको कारण यकिन हुन सकेको छैन, तर विज्ञहरूले नेपाल–चीन सीमाभन्दा माथिका जोखिमपूर्ण हिमताल विस्फोट वा हिम–चट्टान पहिरोलाई प्रारम्भिक कारण मानेका छन् ।
स्थानीय समयअनुसार बिहान करिब साढे ८ बजेतिर टिमुरे बजारमा बाढी भित्रिएको थियो । बाढीले रसुवाको स्याफ्रुबेसी र नुवाकोटको बेत्रावती, त्रिशूलीजस्ता बजारहरू तहसनहस पारेको छ र जनधनको ठूलो क्षति भएको प्रारम्भिक विवरणहरूले देखाएका छन् ।
विज्ञहरू बाढी सुरु भएको स्रोत क्षेत्रबारे एकमत छैनन् । कतिपयले तिब्बती क्षेत्रमा रहेको कुनै हिमताल विस्फोट भएर बाढी आएको बताएका छन् । अर्काथरीले हिमपहिरोले ल्हेन्दे खोलालाई थुनिदिएपछि पानीको दबाब बढेर विस्फोट भएको हुनसक्ने आकलन गरेका छन् ।
हिमताल विस्फोट वा हिमपहिरो ?
त्रिभुवन विश्वविद्यालयको भूगर्भ केन्द्रीय विभागका प्राध्यापक रञ्जनकुमार दाहाल हिमपहिरो र त्यसपछिको हिमताल विस्फोटबिना यति ठूलो बाढी आउन नसक्ने बताउँछन् । रसुवाको उपल्लो भागसँग जोडिएको तिब्बती क्षेत्रमा सँगै रहेका तीनवटा हिमताललाई उनी निकै जोखिमयुक्त मान्छन् । तीमध्ये कुनै ताल फुटेको हुनसक्ने उनको अनुमान छ, तर विस्तृत तथ्यांक नआएसम्म कुन ताल कसरी फुट्यो भन्न सकिने अवस्था नरहेको उनले बताए ।
खोलाको बहाव केहीबेर थुनिएर पानी निस्कँदा मात्रै यति ठूलो बाढी आउन नसक्ने दाहालको भनाइ छ । हिमताल फुटेर जम्मा भएको पानी एकैपटक तल बग्दा यस्तो विध्वंसक रूप लिने उनले बताएका छन् ।
अमेरिकाको युनिभर्सिटी अफ अलास्का फियरब्यांकका अनुसन्धानकर्ता अमृत थापाले भने हिमपहिरोपछि ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक आकलन गरेका छन् । नेपाल र चीनका वैज्ञानिकहरूसँगको कुराकानीका आधारमा उनले यो निष्कर्ष निकालेका हुन् । गत वर्षको रसुवागढी बाढीपछि उपग्रह तस्बिरबाट ती हिमतालको अध्ययन गरेका थापाले आँखाले हेर्दा साना देखिने तालभित्र पनि ठूलो मात्रामा पानी जमेको हुनसक्ने बताए ।
रसुवा क्षेत्रसँग जोडिएको तिब्बती भूभागको प्युरेपु हिमनदीको सतहमा सन् २०२५ को मार्चदेखि साना पोखरीहरू बन्न थालेको उनको भनाइ छ । तालहरू फरक–फरक प्रकृतिले विस्फोट भए पनि सबैको मूल कारण जलवायु परिवर्तन नै रहेको थापा बताउँछन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार अपराह्न जारी गरेको सूचनामा रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमामा हिम–चट्टान पहिरो गएको उल्लेख छ । प्लानेट ल्याब्सका उपग्रह तस्बिरका आधारमा त्यही पहिरोका कारण ल्हेन्दे खोलामा गेग्र्यानसहित बाढी आई टिमुरे हुँदै त्रिशूली नदीमा प्रवेश गरेको देखिएको प्राधिकरणले जनाएको छ ।
जीआईएस र रिमोट सेन्सिङ प्रविधिमा कार्यरत अध्यापक विष्णु महर्जनले भने यो घटना हिमताल विस्फोटजन्य बाढीसँग सम्बन्धित हुनसक्ने उल्लेख गरेका छन् । तर निश्चित रूपमा जीएलओएफ भन्नुअघि थप वैज्ञानिक अनुसन्धान आवश्यक रहेको र भोटेकोशीको माथिल्लो जलाधारमा देखिएका परिवर्तनमाथि विशेष निगरानी राख्नुपर्ने उनले बताएका छन् ।
भूकम्पको प्रारम्भिक सूचना
परराष्ट्र मन्त्री शिशिर खनालले बुधबार मध्याह्न संसद्मा भने, “प्रारम्भिक सूचनाअनुसार बिहान ८ बजेर ३७ मिनेटमा त्यहाँ भूकम्प गएको, हिमपहिरो झरेको र सोही कारण बाढी आएको देखिन्छ । तर यसलाई थप प्रमाणित गर्न बाँकी छ ।”
अमेरिकी जियोलोजिकल सर्वे (यूएसजीएस) ले नेपाल–चीन सीमा क्षेत्रमा ४.४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । यद्यपि, कतिपय विज्ञहरू त्यो धक्काले यति ठूलो बाढी आउन नसक्ने तर्क गर्छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार रसुवा आसपासमा त्यति बेला भारी वर्षा भएको थिएन । गत वर्ष रसुवामा आएको बाढी र दुई वर्षअघि थामेमा गएको पहिरो पनि भारी वर्षाविनै भएको थियो ।
इसिमोडले नेपाल हुँदै बग्ने वा असर पार्न सक्ने ४७ वटा जोखिमपूर्ण हिमताल रहेको आकलन गरेको छ । गत वर्षको घटनापछि रसुवाको माथिल्लो क्षेत्रका साना हिमताललाई धेरै अध्ययनकर्ताले खासै जोखिमयुक्त मानेका थिएनन् । यसपटकको बाढीले साना हिमतालहरू पनि उत्तिकै जोखिमपूर्ण हुनसक्ने देखाएको विज्ञहरूले बताएका छन् ।







