काठमाडौं, २९ भदौ । बाढीबाट प्रभावित दुर्गम तथा कठिन भौगोलिक क्षेत्रमा अत्यावश्यक राहत सामग्री पुर्याउन अमेरिकाले सशस्त्र प्रहरी बललाई व्यावसायिक कार्गो ड्रोन उपलब्ध गराएको छ । अमेरिकामा निर्मित ‘फ्रिफ्लाई अल्टा एक्स जेनटु’ नामक उक्त ड्रोन सोमबार हस्तान्तरण गरिएको हो ।
अमेरिकी दूतावासका उपप्रमुख नियोग प्रमुख स्कट अर्बोम, सार्वजनिक मामिला प्रमुख माइक हार्कर तथा क्षेत्रीय सुरक्षा अधिकृत विल भनले सशस्त्र प्रहरी बललाई सो ड्रोन हस्तान्तरण गरेका हुन् । सडक वा अन्य माध्यमबाट सहज रूपमा पुग्न नसकिने दुर्गम र बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री ढुवानी गर्न सशस्त्र प्रहरीले यसको प्रयोग गर्नेछ ।
आमादब्लममा भएको थियो परीक्षण
अमेरिकी दूतावासका अनुसार यसअघि सेभेन समिट ट्रेक्सले आमादब्लममा उक्त ड्रोनको परीक्षण गरेको थियो । सो परीक्षणका क्रममा ड्रोनले अक्सिजन सिलिन्डर र पर्वतारोहण सामग्री ढुवानी गरेको दूतावासले जनाएको छ ।
बाढी प्रभावित समुदाय तथा परिवारका लागि अमेरिकाले मानवीय, लजिस्टिक, फरेन्सिक, कन्सुलर तथा अन्य प्राविधिक सहयोगसमेत उपलब्ध गराउँदै आएको दूतावासले जनाएको छ ।







