राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशान्त वैदिकले विगतका कमजोरी वा इतिहासलाई दोष दिएर वर्तमान सरकार पन्छिन नमिल्ने बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै उनले नागरिकमा बढ्दै गएको चरम निराशा र राज्यप्रतिको अविश्वासलाई सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।
सम्बोधनका क्रममा सांसद वैदिकले हालैका दिनमा ज्यान गुमाएका गणेश नेपाली, अश्विन रावत र विवेक मण्डलप्रति श्रद्धाञ्जली अर्पण गरे। मुलुकमा घटेका पछिल्ला दुःखद घटनाहरूले राष्ट्रकै आत्मालाई पिरोलेको चर्चा गर्दै उनले केही नागरिकले चरम पीडाका कारण आफ्नो जीवन नै समाप्त गर्ने निर्णयमा पुग्नुलाई केवल व्यक्तिगत कमजोरीका रूपमा मात्र हेर्न नहुने धारणा राखे। उनले यस्ता गम्भीर घटनामा कुनै एउटा कार्यालय वा निर्णयलाई मात्र दोष दिएर सत्य लुकाउन नसकिने स्पष्ट पारे।
सांसद वैदिकका अनुसार मुलुकको वास्तविक स्वास्थ्य भौतिक पूर्वाधार वा आर्थिक सूचकांकले मात्र नभई राज्यका निकायहरूमाथि नागरिकको भरोसा र आशाले मापन गर्छ। जब नागरिकले राज्यसँग संवाद गर्न खोज्दा उपेक्षित महसुस गर्छन् र सेवा लिन जाँदा अपमानित हुनुपर्छ, तब प्रणालीमै ठूलो कमजोरी रहेको प्रमाणित हुने उनले उल्लेख गरे। दशकौंदेखिको राजनीतिक अस्थिरता, कमजोर संरचना, प्रशासनिक जडता र भ्रष्टाचारका कारण मुलुकमा प्रणालीगत असफलता देखिएको उनको भनाइ थियो।
विगतको कमजोरी बहाना बन्न सक्दैन
उनले विगतका गल्तीहरूलाई देखाएर वर्तमान सरकार पन्छिन नपाउने स्पष्ट पारे। "हामीले पुराना समस्याहरू बोकेर अघि बढ्नुपरेको सत्य हो, तर विगतका कमजोरीहरू यो सरकारका लागि बहाना बन्न सक्दैनन्," उनले भने। आजको चुनौतीको सामना गर्ने र नागरिकका घाउहरू पहिचान गरी तिनको उपचार गर्ने जिम्मेवारी वर्तमान नेतृत्वकै भएको उनले औंल्याए।
फाइललाई कागजको थुप्रो मात्र नसम्झौँ
सांसद वैदिकले जनप्रतिनिधि, सरकार र राष्ट्रसेवक कर्मचारीहरूलाई जनमुखी बन्न विशेष आग्रह गरे। सरकारी कार्यालयहरूमा पेस हुने हरेक फाइल केवल कागजको थुप्रो नभएर कसैको जीवन र भविष्यसँग जोडिएको विषय भएको सोचेर काम गर्न उनले आग्रह गरे।
राज्य र नागरिकबीचको दूरी घटाउँदै प्रशासनलाई थप मानवीय र उत्तरदायी बनाउनुपर्नेमा उनले जोड दिए। सरकार नागरिकको अभिभावक भएकाले निराशा चिर्दै समान अवसर सिर्जना गर्न कटिबद्ध हुनेमा आफू विश्वस्त रहेको समेत उनले बताए।




