देशभर जारी मनसुनी वर्षाका कारण मुलुकका विभिन्न ४४ जिल्लामा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को मध्यमदेखि उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार साना नदी तथा खोलाहरूमा पानीको बहाव तीव्र रूपमा बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ।
उच्च जोखिममा रहेका जिल्लाहरू
बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका विभिन्न जिल्लाहरू बाढीको बढी जोखिममा छन्। जोखिमयुक्त जिल्लाहरूमा पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट र सर्लाही रहेका छन्। यी जिल्ला भई बहने साना नदी तथा खोलाहरूमा बहाव एक्कासि बढ्ने अनुमान गरिएको छ।
मध्यम जोखिम र सतर्कताको अपिल
यसैगरी, पश्चिम र सुदूरपश्चिमका जिल्लाहरूमा पनि बाढीको मध्यम जोखिम औंल्याइएको छ। गोरखा, लमजुङ, पूर्वी तथा पश्चिमी नवलपरासी, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया र कैलालीका साना नदीहरूमा पनि बहाव बढ्ने चेतावनी दिइएको छ। चितवन, तनहुँ, कास्की, स्याङ्जा र सुर्खेतका नदीहरूमा समेत बहाव बढ्न सक्ने पूर्वानुमान छ।
जल तथा मौसम विज्ञान विभागका जलविज्ञ विनोद पराजुलीका अनुसार मनसुनी वर्षा अझै केही दिन जारी रहने भएकाले बुधबार र बिहीबारसम्म नै नदीहरूको जलसतह बढ्दो क्रममा रहने सम्भावना छ। खोला किनार तथा नदी तटीय क्षेत्रका बासिन्दालाई मौसम र बाढीको पूर्वानुमान नियमित रूपमा बुझ्न र आवश्यक पूर्वतयारी अपनाउन विभागले अनुरोध गरेको छ।
