मुख्य सामग्रीमा जानुहोस्

विश्व अन्डा दिवस : नेपालमा दैनिक ३८ लाख अन्डा उत्पादन, माग ५० लाख

नेपालमा दैनिक ३८ लाख अन्डा उत्पादन हुने गरे पनि दैनिक माग करिब ५० लाख छ । उत्पादन लागतअनुसारको मूल्य पाउन थालेपछि व्यावसायिक किसान फेरि आकर्षित भएका छन् । विश्व अन्डा दिवसका अवसरमा भरतपुरमा जुम्बा डान्स, एग वाक र गोष्ठी…

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
विश्व अन्डा दिवस : नेपालमा दैनिक ३८ लाख अन्डा उत्पादन, माग ५० लाख
Online Khabar

नेपालमा दैनिक ३८ लाख अन्डा उत्पादन हुने गरे पनि दैनिक माग करिब ५० लाख रहेकाले आपूर्ति मागभन्दा उल्लेख्य रूपमा कम छ । लेयर्स कुखुरा पाल्ने किसानको संख्या बढ्दै गए पनि माग धान्ने गरी उत्पादन पुर्‍याउन अझै मेहनत गर्नुपरेको नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेल बताउँछन् ।

पोखरेलका अनुसार पछिल्लो समय अन्डाले लागतअनुसारको मूल्य पाउन थालेपछि व्यावसायिक अन्डा उत्पादनतर्फ किसान फेरि आकर्षित भएका छन् । किसानले घाटा बेहोर्नुपर्ने अवस्था हटेर लागत जोगाएरै बिक्री गर्न पाएको उनको भनाइ छ । भारतबाट भन्सार छल्ने गरी भित्रिने अन्डा गत वैशाखदेखि रोकिएकाले पनि स्वदेशी उत्पादकलाई राहत पुगेको उनले जानकारी दिए ।

संघको लक्ष्य कोभिड महामारीअघिको अवस्थामा फर्किएर दैनिक ६५ देखि ७० लाख अन्डा उत्पादन पुर्‍याउने छ । देशभरका लेयर्स पालकलाई संगठित गर्दै उक्त लक्ष्यतर्फ काम अघि बढेको अध्यक्ष पोखरेलले बताए । माग पूरा गर्दै आपूर्ति पनि क्रमशः बढाउने रणनीति संघले लिएको छ ।

चार वर्षअघिसम्म करिब १२० रहेका ठूला लेयर्स कुखुरापालक किसानको संख्या अहिले बढेर १८० पुगेको छ । अन्डाको मूल्य प्रति क्यारेट (३० वटा) करिब ६ सय रुपैयाँ आसपास पुगेको छ भने उत्पादकको प्रति अन्डा लागत १९ रुपैयाँ पर्ने पोखरेल बताउँछन् ।

चल्ला, खोर, कर्मचारी, मृत्युदर, बैंक ब्याज, औषधि र दानालगायत सबै खर्च जोड्दा प्रति अन्डा उत्पादन लागत १९ रुपैयाँभन्दा माथि पर्ने गरेको छ । किसानले प्रति गोटा १९ रुपैयाँमा बेचे पनि उपभोक्तासम्म पुग्दा एउटै अन्डाको मूल्य २५ देखि ३० रुपैयाँसम्म पर्ने संघले जनाएको छ ।

उत्पादन लागत घटाउन नसकिएको व्यवसायीको गुनासो छ । दाना बनाउने कच्चा पदार्थको करिब ९५ प्रतिशत भारतलगायत तेस्रो देशबाट आयात गर्नुपर्ने बाध्यता छ । दानामा प्रयोग हुने मकै कुल मागको ५० प्रतिशत हाराहारीमा पर्छ, जसको ७० देखि ८० प्रतिशत भारतबाटै ल्याउनुपर्ने व्यवसायी बताउँछन् ।

चर्को गर्मी र रोगका कारण कुखुरामा संक्रमण बढी हुने र अन्डा उत्पादन घट्ने भएकाले जाडो सुरु भएसँगै उत्पादन केही बढ्ने पोखरेलको आकलन छ । गत वैशाख–जेठमा फैलिएको बर्डफ्लुका कारण अन्डा दिने कुखुरा मार्नुपर्दा उत्पादन केही घटेको उनले स्पष्ट पारे ।

अन्डा उत्पादक किसान बढेसँगै लेयर्स चल्लाको खपत पनि बढेको छ । देशभर साप्ताहिक रूपमा १ लाख लेयर्स चल्ला उत्पादन हुने गरेको छ । किसानले करिब २० हप्तासम्म चल्ला हुर्काएपछि अन्डा उत्पादन सुरु हुन्छ भने करिब ९० हप्तासम्म लेयर्सले राम्रो अन्डा दिने र त्यसपछि हटाउने गरिन्छ ।

दाउन्ने एग्रो फार्म दुम्कीवास, खिलुङकाली स्याङ्जा, जनकपुर एग्रो जनकपुरधाम, दुम्कीबास पोल्ट्री, हिमचुली पोल्ट्री रजहर र पूर्वाञ्चल पोल्ट्री विराटनगरले ३ लाखभन्दा बढी लेयर्स कुखुरा पाल्दै आएका संघले जनाएको छ ।

भरतपुरमा जुम्बा डान्स र एग वाक

विश्व अन्डा दिवसका अवसरमा शुक्रबार भरतपुरमा जुम्बा डान्स र एग वाक कार्यक्रम आयोजना गरिएको छ । नेपाल लेयर्स कुखुरापालक संघ केन्द्रीय समितिले उद्योग संघ चितवनको परिसरमा जुम्बा डान्स गरेर दिवसको सुरुवात गरेको थियो, जसमा सहभागीहरू डिजे म्युजिकमा नाचेका थिए । शारीरिक स्फूर्तिका लागि अन्डा आवश्यक पर्ने सन्देश दिन जुम्बा डान्स गरिएको पोखरेलले बताए ।

जुम्बा डान्सपछि आयोजित एग वाक अस्पतालरोड, चौबिसकोठी र वीरेन्द्र क्याम्पस चोकबाट सुरु भई पुनः चौबिसकोठी, एयरपोर्ट चोक हुँदै संघको परिसरमा पुगेर समापन भएको थियो । सहभागीहरूले मानव स्वास्थ्यमा अन्डाको महत्त्व देखाउने झाँकी प्रस्तुत गरेका थिए ।

अन्डाको पोषण तथा स्वास्थ्य महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस वर्षको विश्व अन्डा दिवस विविध कार्यक्रमसहित मनाइएको संघले जनाएको छ । अन्डालाई सन्तुलित आहारको महत्त्वपूर्ण अंगका रूपमा प्रवर्द्धन गर्दै यसको पोषण र स्वास्थ्यमा पर्ने सकारात्मक प्रभावबारे नागरिकलाई जानकारी गराउन कार्यक्रम गरिएको पोखरेलले बताए ।

अक्टोबर महिनाको दोस्रो शुक्रबार मनाइने विश्व अन्डा दिवसको यस वर्षको नारा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ रहेको छ । सन् १९९६ मा अस्ट्रियाको भियनाबाट सुरु भएको यो दिवसले यसपालि ३० वर्ष पूरा गरेको छ ।

संघको मूल आयोजनामा अमेरिकी सोयाबिन एक्सपोर्ट काउन्सिल (यूएसएसईसी) को सहयोग तथा सरकारी र निजी क्षेत्रको सहकार्यमा विभिन्न विद्यालयमा अन्डाको महत्त्वबारे कक्षा सञ्चालन गरिएको थियो । भरतपुरमा सरोकारवालाको सहभागितामा प्यानल डिस्कसनसहित गोष्ठी पनि आयोजना गरिएको संघले जानकारी दिएको छ ।