मुख्य सामग्रीमा जानुहोस्

बागमती सफाइ महाअभियान ७००औँ हप्तामा, पशुपति क्षेत्रसम्म स्नानयोग्य बनाउन माग

विसं २०७० जेठ ५ गते सुरु भएको बागमती सफाइ महाअभियान ७००औँ हप्तामा प्रवेश गरेको छ । गुह्येश्वरीमा आयोजित अन्तरक्रियामा सहभागीहरूले पशुपति क्षेत्रसम्मको बागमतीलाई स्नानयोग्य बनाउने गरी काम गर्न माग गरेका छन् ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
बागमती सफाइ महाअभियान ७००औँ हप्तामा, पशुपति क्षेत्रसम्म स्नानयोग्य बनाउन माग
Online Khabar

काठमाडौं । विसं २०७० जेठ ५ गतेदेखि निरन्तर सञ्चालित बागमती सफाइ महाअभियान ७००औँ हप्तामा प्रवेश गरेको छ । यही अवसर पारेर गुह्येश्वरीमा भएको अन्तरक्रियामा सहभागीहरूले पशुपति क्षेत्रसम्मको बागमतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यसहित काम गर्न माग गरेका छन् ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको गुह्येश्वरीस्थित कार्यालयमा आयोजित सो कार्यक्रममा सफाइ महाअभियानका मुख्य अभियानकर्मी तथा पूर्वमुख्यसचिव लीलामणि पौडेलले अभियान सुरु भएको ५०औँ हप्तामा गुह्येश्वरी क्षेत्रमा पानी परीक्षण गरी स्नान गरिएको भए पनि त्यसलाई स्थायित्व दिन नसकिएको बताए । त्यसबेला तत्कालीन राष्ट्रपति डा रामवरण यादवले गुह्येश्वरीमा जल आचमन गरेको स्मरण पनि उनले गरे ।

समितिका अध्यक्ष डा आनन्दसिंह भाटले नदीको धार व्यवस्थापन गरी सफाइ अभियानलाई पूर्णता दिने र नदी क्षेत्रको रिचार्जका लागि विभिन्न स्थानमा ताल बनाउने योजना रहेको जानकारी दिए ।

अभियानको विस्तार

कार्यक्रममा समितिका आयोजना प्रमुख मचाकाजी महर्जन र सफाइ अभियानकर्मी डा माला खरेलले वाग्मती सफाइसम्बन्धी प्रस्तुतीकरण गरेका थिए । अन्तरक्रिया सुरु हुनुअघि गुह्येश्वरी क्षेत्रको वाग्मती सफाइ गरिएको थियो ।

महाअभियानको सुरुवातदेखि नै प्रत्येक शनिबार बिहान दुई घण्टा वाग्मती सफाइ हुँदै आएको छ । यसको प्रभाव स्वरूप राजधानीमा वाग्मतीका सहायक नदी, चक्रपथका विभिन्न खण्ड तथा सम्पदास्थलमा सफाइ भइरहेको छ । राजधानी बाहिरका प्रमुख सहर, नदी र सम्पदास्थलमा पनि सफाइ भएको छ । महाअभियानका अनुसार हाल देशभर करिब १११ स्थानमा सफाइ भइरहेको छ ।