नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मत गणना सुरु भएको छ । ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा यी दुवै पदको गणना एकैसाथ थालिएको हो ।
केन्द्रीय निर्वाचन समितिका अनुसार मत गणना तीन स्थानमा भइरहेको छ । प्रत्येक गणनास्थलमा हरेक उम्मेदवारलाई एक–एक जना प्रतिनिधि राख्न दिने सहमति पनि भएको समितिले जनाएको छ ।
सभापतिमा गगनकुमार थापा निर्वाचित
यसअघि शुक्रबार राति सम्पन्न सभापति पदको मत गणनामा गगनकुमार थापा निर्वाचित भइसकेका छन् । उनले ६ हजार ५८४ मत प्राप्त गरेका छन् ।
प्रतिस्पर्धी उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत पाएका छन् । सभापति पदका लागि भएको मतदानको गणना राष्ट्रिय सभागृहमा गरिएको थियो ।
अब बाँकी पदाधिकारीको परिणाम भने सानेपामा जारी गणनाबाट टुंगिनेछ ।







