नेपाली राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्टले पहिलो पटक आयोजना हुन लागेको नेपाल भलिबल लिग (एनभीएल) ले नेपाली भलिबललाई नयाँ उचाइमा पुर्याउने बताएका छन्। बुधबार एनभीएलको फ्रेन्चाइज टिम अन्नपूर्ण सुपर किङ्सले आयोजना गरेको ब्रान्ड एम्बासडर घोषणा कार्यक्रममा प्रशिक्षक भट्टले एनभीएलमार्फत खेल र खेलाडी दुवैको लागि ठूलो अवसर हुने विचार राखे।
राष्ट्रिय खेलकुद परिषद् तालुक तथा प्रशिक्षक विभागको उपनिर्देशक समेत रहेका भट्टले यो लिगले नेपालको राष्ट्रिय खेललाई माथि ल्याउने र व्यावसायिक रूपमा अगाडि आएको बताए। उनले भने, 'यो लिगले नेपालको राष्ट्रिय खेललाई माथि ल्याउने छ। अहिले नै यसको भिजुलाइज हुन थालेको छ। यो लिग कमर्सियल रुपमा अगाडि आएको छ र भलिबल खेललाई पनि उचाइ दिनेछ। यसले खेलाडी विदेश जाने क्रम पनि रोक्नेछ।'
भट्टले नेपाली भलिबल खेल र खेलाडीले राष्ट्रिय खेललाई माया गरेकोमा खुशी व्यक्त गरे। तीन दशकभन्दा बढी समयदेखि भलिबलमा आबद्ध उनले भलिबलले हासिल गरेको उचाइ देखेर आफू खुशी भएको बताए। उनले नेपालको भलिबल इतिहासमा पुरुष भलिबल लिग उत्कृष्ट प्रतियोगिता हुने विश्वास राखे।
प्रशिक्षक भट्टले टोलीका मालिकदेखि सबैले साथ दिइरहेको उल्लेख गर्दै 'टुगेदर वि एचिभ मोर' भन्ने मन्त्रलाई आत्मसात गरेर सफलता हासिल गर्न सकिने बताए। महिला र पुरुष दुवैको फ्रेन्चाइज लिग आयोजना हुनुले भलिबलको लोकप्रियता र विकासमा सहयोग पुग्ने उनको भनाइ थियो।

