साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा भएको सेमिफाइनलमा इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै अर्जेन्टिनाले पुनरागमन जित निकालेको हो।
खेलको ५५औं मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए। तर अर्जेन्टिनाले अन्तिम समयमा शानदार पुनरागमन गर्यो। ८५औं मिनेटमा कप्तान लियोनल मेसीको पासमा एन्जो फर्नान्डेजले पेनाल्टी बक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि दोस्रो हाफको इन्जुरी टाइममा मेसीकै पासमा सुपर सब लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई २-१ को अग्रता दिलाए।
अर्जेन्टिनाले ६४ प्रतिशत बल पोजेसन राखेको थियो भने पाँच प्रहार सट अन टार्गेट गरेको थियो। इंग्ल्यान्डले भने दुई सट अन टार्गेट मात्र राख्न सक्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
फाइनलमा स्पेनसँग प्रतिस्पर्धा
तीन पटकको विश्वविजेता अर्जेन्टिना सातौं पटक विश्वकपको फाइनलमा पुगेको हो। यसअघि सन् १९७८, १९८६ र २०२२ मा उपाधि जितेको अर्जेन्टिना १९३०, १९९० र २०१४ मा फाइनलमा पराजित भएको थियो। लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यसहित अर्जेन्टिनाले अब स्पेनसँग खेल्नेछ।
सन् १९६६ मा विश्वकप जितेको इंग्ल्यान्ड भने सेमिफाइनलमा तेस्रो पटक पराजित भएको छ। यसअघि १९९० र २०१८ मा पनि इंग्ल्यान्ड सेमिफाइनलमा हारेको थियो।






