भारतबाट हुने फूल आयातमा प्रतिबन्ध लागेपछि स्थानीय बजारमै फूल खेतीतर्फ किसानको आकर्षण बढ्न थालेको छ। सीमावर्ती जिल्ला बैतडीका एक कृषि विद्यार्थीले पनि पढाइसँगै व्यावसायिक सयपत्री खेती सुरु गरेका छन्।
बैतडीको डिलाशैनी गाउँपालिका–५ सेटीगाउँका नवीनराज जोशी गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा बीएस्सी छैटौँ सेमेस्टरमा अध्ययनरत छन्। बजारमा सयपत्रीको माग बढ्ने अनुमान गर्दै उनले यस वर्ष पाँच हजार रुपैयाँको लगानीमा ‘कर्मा ५५५’ जातको तीन सय बोट सयपत्री रोपेका थिए। दसैँअघि नै फुल्न थालेका ती बोट अहिले उनको बगैँचामा ढकमक्क फुलेका छन्।
प्रतिकिलो तीन सय रुपैयाँका दरले फूल बिक्री गर्दै आएका जोशीले दसैँमा मात्रै १६ हजार रुपैयाँ बराबरको सयपत्री बेचेका छन्। दसैँ र तिहार दुवै पर्वमा गरी ७५ हजार रुपैयाँभन्दा बढीको फूल बिक्री हुने उनको अनुमान छ।
खेती सुरु गरेकै पहिलो वर्ष बजारको सकारात्मक प्रतिक्रिया पाएपछि उनी थप जातका फूलतर्फ पनि लाग्ने तयारीमा छन्। अहिले आफ्नो उत्पादनले माग धान्न नसकेको उनको भनाइ छ।
दार्चुलासम्म पुग्यो फूलको माग
जोशीको बगैँचाबाट उत्पादित सयपत्री बैतडीका गोकुलेश्वर, पन्ज्युनया, डडिया र खोचलेक क्षेत्रका बजारमा बिक्री भइरहेको छ। यस्तै दार्चुलाको सदरमुकाम खलंगा र गोकुलेश्वर बजारबाट पनि फूलको माग आउन थालेको छ। पहिलो वर्ष नै छिमेकी जिल्लासम्म माग विस्तार भएपछि खेती बढाउने हौसला मिलेको उनले बताएका छन्।
हिउँदको मौसममा पनि फूल उत्पादन गर्ने योजनासहित जोशी अहिले गमलामा फुल्ने होचा जातका फूलको बीउ उमारिसकेका छन्। गमलासहितै फूल बिक्री गर्ने लक्ष्य राखेर उनले त्यस्ता जातको खेती सुरु गर्न लागेका हुन्।
तीन वर्षदेखि पढाइसँगै व्यावसायिक तरकारी खेती गर्दै आएका जोशीले यस वर्षदेखि फूल खेती पनि थपेका हुन्। तरकारीसँगै फूल खेतीलाई पनि निरन्तरता दिने उनको योजना छ। कक्षामा सिकेको ज्ञानलाई व्यवहारमा उतार्न आफूले यी दुवै खेती अघि बढाएको उनको भनाइ छ। कृषि पेसाबाटै आत्मनिर्भर बन्न सकिने भएकाले आफू यस क्षेत्रमा लागेको पनि उनले बताएका छन्।







